ओलीको आग्रह- सहकार्य गरौं, नेपालको जवाफ- नबोलाइ आउँदिनँ कार्यशैली सच्याउनुस्
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालबीच मङ्गलबार अपराह्नतिर भेटवार्ता भएको छ । उनीहरूबीच झन्डै तीन घण्टा कुराकानी भएको नेपालनिकट स्रोतले जानकारी दियो ।
करिब तीन महिनापछि भएको भेटमा कमजोर महसुस गरेका ओलीले नेता नेपाललाई सहकार्यको प्रस्ताव गरेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओली र नेता नेपालबीच पछिल्लो साउन ९ गते शुक्रबारयता भेट भएको थिएन । त्यतिबेला पनि प्रधानमन्त्रीले चैतको महाधिवेशनपछि पार्टीको नेतृत्व लिने गरी सहकार्यको प्रस्ताव गरेका थिए ।
“त्यतिबेला निकै अप्ठ्यारोमा परेका ओलीले दीर्घकालीन सहकार्य गरौं, महाधिवेशनपछि नेतृत्व लिनुहोला भनेका थिए,” स्रोतले भन्यो, “यसपटक सहकार्यबारे मूर्त कुराकानी नभएको नेता नेपालको भनाइ छ ।” सहकार्यको जवाफमा नेता नेपालले तपाईंले नबोलाइ आउने कुरा भएन भन्दै जवाफ फर्काएको स्रोतको दाबी छ ।
भेटमा सरकार र पार्टी सञ्चालनबारे बाहिर प्रश्न उठेको भन्दै नेता नेपालले असन्तुष्टि जनाएको स्रोतको दाबी छ । “सरकारको कार्यशैलीबाट जनता पटक्कै खुसी छैनन् । आलोचना भइरहेको छ,” नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “जनता खुसी हुन्, देश राम्ररी अगाडि बढोस्, सरकारले राम्रो काम गरोस्, पार्टीको प्रतिष्ठा बढोस् भन्ने मात्र मेरो चाहना हो ।”
नेता नेपालले स्थायी कमिटी बैठकको निर्णयहरू अलपत्र परेको सन्दर्भमा पनि प्रश्न उठाएका थिए । उनले प्रधानमन्त्रीलाई गरेको आग्रह स्रोतले उद्धृत गर्यो, “पार्टीभित्र जिम्मेवारी दिने सन्दर्भमा स्पष्ट मापदण्ड बनाउनुस्, वरिष्ठता, योग्यता र क्षमताको वास्तविक मूल्याङ्कन गर्नुस् । आफ्ना मानिस नहेरी सबैलाई समुचित न्याय गर्नुस् ।” नेता नेपालले प्रधानमन्त्रीले कार्यशैली सच्याए, सबैलाई न्याय गरे मात्रै साथ र सहयोग रहने भनेर थप जवाफ दिएको स्रोतको भनाइ छ ।बाह्रखरी डटकमबाट