चीनमा ट्रम्पको बैंक अकाउन्ट, अमेरिकामा भन्दा चीनमा बढी कर तिरेको खुलासा
मकवानपुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चिनियाँ बैंक अकाउन्ट रहेको र त्यहाँ उनले वर्षौँदेखि विभिन्न व्यवसाय गर्दै आएको न्युयोर्क टाइम्सको नयाँ रिपोर्टबाट सार्वजनिक भएको छ । सो अकाउन्ट ट्रम्प अन्तर्राष्ट्रिय होटल व्यवस्थापनले सञ्चालन गर्दै आएको अनि २०१३ देखि १५ का बीच उनले १ लाख ८८ हजार अमेरिकी डलर भन्दा बढी कर समेत तिरेको रिपोर्टमा जनाइएको छ जबकि ट्रम्पले आफ्नै देशमा चाहिँ, राष्ट्रपति भएपछि २०१६–१७ मा केबल ७५० डलर कर तिरेको यसअघि खुलासा भएको थियो ।
सन् २००० पछि उनले १०–१५ वर्षसम्म आम्दनी गरेको भन्दा धेरै गुमाएकाले कुनै कर नतिरेको न्युयोर्क टाइम्सको रिपोर्टमा उल्लेख रहेको छ । र यसबीच राष्ट्रपति भएको वर्ष अनि ह्वाइटहाउसको पहिलो वर्षमा उनले केबल ७५० डलर कर तिरेको द टाइम्सले यसअघि खबर गरेको हो जसले सबैलाई आश्चर्यमा पारेको थियो ।
चिनियाँ अकाउन्टका बारेमा भने, ट्रम्पका प्रवक्ताले स्पष्टिकरण दिन खोज्दै सो अकाउन्ट केही सम्भावित होटल व्यवसायका लागि भएको बताएका हुन् । यता ट्रम्पले स्पष्ट रुपमा लामो समय अगाडिदेखि नै अमेरिकी कम्पनी र व्यापारीहरुको चीनमा व्यवसाय गरेकाप्रति कडा आलोचना गर्दै आएका छन् । यही कारण एक वर्षसम्म चीन र अमेरिकाबीच व्यापारिक युद्ध समेत चलेको हो । यति मात्र नभएर उनले राष्ट्रपति उमेदवार बाइडेनमाथि चीनप्रति उनका नीतिहरुको कमजोर रहेको आरोप पनि लगाउने गरेका छन् । ट्रम्प प्रशासनले यसअघि बाइडेनका छोरा हन्टरलाई लक्षित गर्दै उनीहरुले चीनसँग अवैध डिल गरेको दाबी गरेको थियो तर बाइडेनको आयकर लगायत आर्थिक गतिविधिका विवरण हेर्दा उनीहरु चीनसँग कुनै व्यवसायिक सम्झौतामा संलग्न नरहेको पाइएको हो ।
यसरी गत अगस्टमा मात्र उनले अमेरिकी उद्योगहरुलाई चीनबाट बाहिरिन कर छुटको प्रस्ताव समेत राखेका थिए र चीनसँग कारोबार जारी राखेमा सरकारले सबै ‘कन्ट्राक्ट’ हरु रद्द गरिदिने धम्की पनि दिएका थिए । आफ्नो बयानमा उनले दश महिनामा १ करोड रोजगारी सिर्जना गरि चीनमाथिको निर्भरता पूर्ण रुपमा अन्त्य गर्ने बताएका थिए । तर न्युयोर्क टाइम्सको यो नयाँ खुलासाले ट्रम्प आफैँ चीनमा व्यवसाय गर्न प्रयत्नरत् रहेको स्पष्ट भएको छ । २०१२ मा उनले यसैका लागि सांघाइमा अफिस समेत उद्घाटन गरेका थिए । रिपोर्टमा रहेको कर रेकर्ड हेर्दा उनले चीनका केही ससाना कम्पनीहरुमा कम्तीमा पनि १ लाख ९२ हजार डलर लगानी गरेको पाइएको छ ।
चुनाव नजिकिँदै जाँदा यस किसिमका अप्रत्याशित खुलासा आउने क्रम जारी रहने राजनीतिकविद्हरुले बताएका छन् । र ट्रम्पले आफ्नो सबैभन्दा ठूलो दुश्मन ठान्ने गरेको चीनसँगै उनको व्यक्तिगत व्यवसायिक सम्बन्ध हुनुले अहिले सबैलाई आश्चर्यमा पारेको छ ।
बाह्रखरी डटकमबाट