आज फूलपाती भित्राईदैं, प्रदेश प्रमुख प्रसाईंले दिए दशैंको शुभकामना
मकवानपुर । नेपाली हिन्दुहरुको महान पर्व बडादशैंको सातौं दिन आज (शुक्रबार) घरघरमा फुलपाती भित्राइदैंछ । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैंमा फूलपाती भित्राउने गरिएको छ । यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना कहरका बीच नेपालीले दशैं मनाइरहेका छन् । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राउने गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अर्थात्, पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि भएको दशैंमा दुर्गापूजाको सामाजिक चहलपहल फुलपातीका दिनबाटै थप रौनकता बढ्नेछ ।
यो पटक फुलपाती भित्राउने कार्यलाई कोरोनाले प्रभाव पारेको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा यो पटक फूलपाती भित्राउने कार्यक्रम रोकिएको छ । मकवानपुर प्रशासनका अनुसार विगतका वर्षहरुमा सरकारी तरबरबाटै भएपनि यो पटक कोरोना भाइरस संक्रमणको जोखिमका कारण फुलपाती भित्राउने रोकिएको हो । मकवानपुरका भुटनदेवी, चुरियामाई, गोरेक्षश्वर, मनकामना मन्दिर, चिसापानी र मकवानपुरगढीलगायत शक्तिपीठमा नित्य पूजाआजाका लागि मात्र व्यवस्था मिलाइएको मकवानपुर प्रशासनले जनाएको छ । शक्तिपीठ तथा मन्दिरमा सर्वसाधारणको भीड हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले यो पटक सामान्य पुजाआजामा पुजा विधिको व्यवस्था गरिएको हो ।
यसैबिच, बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालीहरुको महान् पर्ब दशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले सन्देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले पारिवारिक सिमीत घेराभित्र रहेर चाडपर्व मनाउन आग्रह गरेका छन् । सानो लापरवाहीले पनि निकै जोखिम हुनसक्ने भएकाले स्वास्थ्य सावधानी अपनाउनका लागि प्रदेश प्रमुख प्रसाईंको आग्रह छ ।