उल्लासमय भएन दशैं, आज पनि टिका लगाईंदै
मकवानपुर । कोरोनाको त्रासबीच यस बर्षको दशैं घरमै मनाइएको छ । दशैंको टिकाको भोलिपल्ट आज (मंगलबार) पनि आफ्ना मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी रहदैछ ।
विगतका दशैंमा टाढा टाढाका मान्यजनसँग विजया दशमीको दिन टीका थाप्न जाने गरिएकोमा यो पटक कोरोनाका कारण आफ्नो घरमै बसेर दशैं मनाइएको हो ।
राष्ट्रप्रमुखदेखि सर्वसाधारणले यो पटकको दशैंमा विगतको तुलनामा फरक अनुभूति गरे । टिकाको दिनका अलावा कोजाग्रत पूर्णिमाको दिनसम्मपनि टीका लगाउने प्रचलन छ । तर यो पटक सिमित परिवारका सदस्यबीच दशैं मनाइने भएकाले कोजागत पूर्णिमासम्म टिकाटालो गर्न जानेको संख्या विगतको जस्तो उल्लेख्य नहुने भएको छ । सरकारले घरमै बसेर दशैं मनाउँन भनेकाले त्यसको नियम पालना गर्दै दशैं मनाइएको हो । घर नजिककाका मान्यजनकहाँ गएको पाइएको छ । यो पटकको दशैं विगतको जस्तो उल्लासमय भएन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा हिजो (सोमबार) आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन् । शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन्।
कोरोना संक्रमित भएका कारण अस्पतालमै पनि दशैं मनाइएको छ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको हो । अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई टीका लगाइदिएका हुन् । वलीले आफैं पनि संक्रमित भएकाले आपसमा टिका जमरा ग्रहण गरिएको बताए ।