पालिका अध्यक्ष हिदम लामा र बालसंगठनका सभापति अशोक सारुको दशैं बालबालिकासंग
मकवानपुर । मकवानपुरको भीमफेदीमा रहेको बालगृहमा दशैं मनाइएको छ । बालगृहका बालबालिकालाई गाउँपालिकाका अध्यक्ष हिदम लामा र बालगृह संचालन गरिरहेको नेपाल बाल संगठन मकवानपुरका सभापति अशोक सारु मगरले टीका तथा जमरा लगाईदिए ।
बालगृहमा रहेका ३५ जना बालबालिकासंग आफूहरुले दशैं मनाएको गाउँपालिकाका अध्यक्ष लामाले फेशबुकमा फोटा सहित जानकारी गराएका छन् ।
भीमफेदीमा यो बालगृह २०५७ सालमा स्थापना भएको हो । बालगृहमा अहिले ६ देखि १७ वर्ष उमेर समूहका बालबालिका संरक्षित छन् ।
गाउँपालिका अध्यक्ष लामाले बाल संगठन मकवानपुरको स्वामित्वमा रहेको २० रोपनी जमीनमा अवस्थित बालगृहलाई विवालय सहितको व्यवस्थित पूर्वाधार निर्माण गरी देश भरका अभिभावक, संरक्षक विहिन बालबालिकालाई संरक्षण गर्न राष्ट्रिय स्तरको बालगृहको रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छन् । अध्यक्ष लामाले यसका लागि केन्द्रीय बाल संगठन,बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र संघीय महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको ध्यान जान जरुरी भएको औंल्याएका छन् ।
बालसंगठनका नवनियुक्त सभापति सारु मगरले बालगृहका बालबालिकासंग दशैं मनाउँदै बालगृहलाई व्यवस्थित रुपमा संचालनका लागि ध्यान दिने बताए । आफ्नो जिम्मेवारी बालसंगठनका नाममा रहेका सम्पति संरक्षण गर्दै बालबालिकाको अभिभावकत्व लिनु रहेकाले सो कार्यमा आफू लागिपर्ने बताए ।
बालगृह ललितपुरस्थित ‘चिल्ड्रेन होम’ नामक गैरसरकारी संस्थाले संचालन गर्दै आइरहेको छ ।











































