मौसमी फ्लुका बिरामीले घरमै उपचार गराउनू :चिकित्सक

मकवानपुर । चिकित्सकहरुले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
हरेक अस्पतालका आइसियु बेडहरु कोभिडका बिरामीले भरिएको चिकित्सकहरुको भनाइ छ। मौसम परिवर्तनसँगै मौसमी फ्लुका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमले बताइन्।
अस्पतालहरुमा आइसियु बेड खाली नभएको, अक्सिजन उपकरणहरु अपुग रहेकाले संक्रमितहरु अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन उनले आग्रह गरिन्।
डा. गौतमले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न सबैलाई आग्रह गरिन्। डा. गौतमले मौसमी फ्लु र अन्य फ्लुको लक्षणहरु उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने भएकाले आफैले सतर्कता अपनाउनुपर्ने बताइन्।
सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको उनले बताइन्। सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाह अनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता १० दिन भित्रमा मौसमी फ्लु निको हुने उनले बताइन्।
सामान्य रुघाखोकी लाग्दैमा हतार हतार अस्पताल आएर अस्पतालबाट आफूलाई नभएको फ्लु समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उनले आग्रह गरिन्।
मौसमी फ्लुका लक्षण देखिएपनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरे ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल आउन पनि उनले आग्रह गरिन्।
नेपालमा लक डाउन सुरु भएको सुरुवाती चरणमा सरकार र नागरिक स्तरबाट कडाईका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए पनि अहिलेको अवस्थामा त्यसो हुन नसकेको उनले बताइन्।
रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुले केही हप्तामा कोरोना जिते पनि दिर्घरोगी, बालक तथा वृद्धवृद्धाहरुको ज्यान समेaत जाने घटनाहरु बढिरहेको उल्लेख गर्दै उनले कोरोनालाई हल्का रुपमा नलिन पनि आग्रह गरिन्। अहिलेको अवस्थामा जटिल खालका बिरामीहरु बढ्दै गएको प्रति चिन्तासमेत व्यक्त गरिन्। थाहा खबर डटकमबाट