कर्णाली प्रकरणले नेकपा विवाद उत्कर्षमा, खुमलटारमा गोप्य भेला

लोकखबर
१६ कार्तिक २०७७, आईतवार १५:४१

मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ । कर्णाली प्रदेशको प्रकरणपछि नेकपा विवाद चरमोत्कर्षमा पुगेको र एकता नै सङ्कटमा परेको नेकपाका नेताहरूले जनाएका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका थिए । शनिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीनिकट दुईजना, नन्दसिंह बुढा र दल रावललाई बोलाएर छलफल गरिदिन र आवश्यक परे हटेर बाटो खुला गरिदिन आग्रह गरेका थिए ।

उनले आइतबार बिहानैदेखि मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका थिए । माधव नेपाल पक्षसँग छलफल गरिरहेका थिए ।

आफूनिकट मन्त्री हटाउने तयारी बुझेपछि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रिपरिषद् पुनर्गठन गरे आफ्नो स्टेप चाल्ने चेतावनी दिएको स्रोतको दाबी छ ।

मन्त्रिपरिषद् पुनर्गठनका कारण विग्रह बढ्ने खतरा देखेपछि महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई फोन गरेर तत्काल रोक्न आग्रह गरेका थिए । “हामीले बिहानभरि कसरत गर्‍यौं । मन्त्रिपरिषद् पुनर्गठन रोकियो पनि । अहिले पनि छलफल मै छौं,” नेम्वाङले भने ।

स्रोतका अनुसार ओलीको चेतावनीपछि खुमलटारमा बिहान ११ बजे प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसहित नेताहरूको गोप्य बैठक बसेको थियो ।

छलफलमा ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चा चलेको एकनेताले बताए । छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादल र उपाध्यक्ष वामदेव गौतम पनि सहभागी रहेको स्रोतको जिकिर छ ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*