जहाज खरिदको लागि ५ अर्ब माग, २५ अर्बको ऋण तिरिदिन आग्रह

लोकखबर
१८ कार्तिक २०७७, मंगलवार १५:५९

मकवानपुर ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको माग अनुसार नयाँ जहाज खरिदको लागि बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग माग गरेको छ ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बजेट बाहिरको कार्यक्रम तथा योजनामा बजेट माग नगर्न आग्रह गर्दै आएकोमा नयाँ अर्थमन्त्रीको आगमनसँगै पर्यटन मन्त्रालयले जहाज किन्न वित्तीय व्यवस्थापनको लागि आग्रह गरिएको हो । यसबारे अर्थमन्त्रीले भने प्रतिक्रिया दिइसकेका छैनन् । अहिलेको आवश्‍यकतालाई हरेर निर्णय लिइने उनको सचिवालयले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनाकै अबधिमा बजेट बाहिरबाट मन्त्रालयले रकम माग गरेको हो । चालू वर्षको बजेटमा नयाँ जहाज खरिदको लागि रकम विनियोजन गरिएको छैन ।

चीनबाट सहुलियतपूर्ण ऋण र अनुदानमा ल्याइएका ६ जहाज चलाउन नसकेको नेपाल वायु सेवा निगमले आन्तरिक उडान विस्तारका लागि नयाँ जहाज आवश्‍यकता परेको बताउँदै आएको छ ।

अर्थ मन्त्रालयसँगको छलफलमा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ जहाज खरिदको लागि ५ अर्ब रुपैयाँ रकम व्यवस्था गरिदिनको लागि आग्रह गरेका छन् ।

हालसम्म संख्यात्मक रुपमा निगमसँग आन्तरिक उडानमा ६ वटा चिनियाँ जहाज र दुई वटा ट्वीनेटर जहाज छन् ।

अन्तर्राष्ट्रिय उडानको लागि २ वटा न्यारो र २ वटा वाइडबडी जहाज छन् ।

चिनियाँ जहाज सञ्चालनबाट निगमलाई फाइदा नभएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गत असारमा निगमका कार्यकारी अध्यक्ष सुशिल घिमिरेलाई नयाँ जहाज खरिदका लागि प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।

३ आर्थिक वर्षको अवधिमा चीनियाँ जहाजबाट व्यापार हुनुको साटो २ अर्ब रुपैयाँ नोक्सानी भएपछि निगमले चिनियाँ जहाज नचलाउने निर्णय गरेको थियो ।

आन्तरिक उडान विस्तारको लागि निगमले नयाँ जहाजको माग गरेको हो । निगमले दुर्गम क्षेत्रको उडानको लागि ट्वीनेटर र सुगम क्षेत्रको लागि एटिआर गरी २र२ वटा जहाज खरिदको योजना बनाएको छ ।

निगमलाई वित्तीय रुपमा सशक्त बनाउनको लागि चुक्ता पुँजी ३० अर्ब रुपैयाँ पुर्‍याउने योजना अघि सारेको छ ।कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग भएको २५ अर्ब रुपैयाँ ऋण तिरिदिन पनि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयलाई आग्रह गरिएको छ । शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*