मकवानपुरका थप ४० जनालाई कोरोना, प्रेस संयोजक दाहाललाई पनि संक्रमण

मकवानपुर । मकवानपुरमा आज (बुधबार) थप ४० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
अस्ति कात्तिक १७ गते संकलित १ सय ७१ जनाको स्वाब परिक्षणको आज विहान सार्वजनिक रिर्पोटमा १८ महिला र २२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
गोरक्षश्वर,कोभिड १९, स्वाब संकलन केन्द्रले संकलन गरेको स्वाब हेटौंडा–१० स्थित किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा परीक्षण गरिएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २८, थाहानगरपालिकाका ४, मनहरी गाउँपालिकाका ६, बकैया गाउँपालिकाका १ जना रहेको हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा तथा जनस्वास्थ्य प्रबद्र्घन शाखाका जनस्वाथ्य निरिक्षक, कोभिड नाइन्टिन फोकल पर्सन भोला चौलागाईंले जानकारी दिए ।
कोरोना पुष्टि हुनेमा हेटौंडा २ का २, हेटौंडा ३ का १, हेटौंडा ४ का ७, हेटौंडा ५ का ७, हेटौंडा ६ का १, हेटौंडा ९ का ५, हेटौंडा ११ का २, हेटौंडा १३ का १, हेटौंडा १४ का २ जना रहेका छन् । थाहानगरपालिका ६ का ४ जना, मनहरी गाउँपालिका ३ का १, ४ का १, ७ का ३, ९ का १ र बकैया ७ का एक जनालाई कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन चौलागाईंले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा ४ वर्षदेखि ७७ वर्षसम्मका व्यक्ति रहेका छन् । संकलित स्वाबको ३० प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
यसैबिच, बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस संयोजक प्रकाश दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामान्य रुघा, खोकी, ज्वरो आएपछि गरिएको परिक्षणमा आफूलाई कोरोना पुष्टि भएको दाहालले जनाएका छन् । प्रेस संगठन मकवानपुरका संयोजक समेत रहेका मुख्यमन्त्रीका प्रेस संयोजक दाहाल अहिले होम आइसोलेसनमा बसेका छन् ।