कोरोना बीमाको भुक्तानी एक साताभित्रै गर्न बीमा समितिको निर्देशन

लोकखबर
१९ कार्तिक २०७७, बुधबार १४:१७

मकवानपुर । कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीलाई बीमा समितिले निर्देशन दिएको छ ।

कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीलाई दाबी परेको सात दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले अर्थमन्त्रालयसँगको छलफलपछि सबै प्रक्रिया सात दिनभित्र पूरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताए ।

यसअघि बीमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नभएको र दोहोरो बीमा भएको पाइएकाले त्यसको प्रमाणीकरण गर्न समय लाग्दा दाबी भुक्तानीमा ढिलाइ भएको पनि अध्यक्ष चापागाईंले बताए । तर, अबदेखि प्रमाणीकरणका सबै प्रक्रियाहरू एक साताभित्र पूरा गरी भुक्तानी दिइसक्न निर्देशन दिएको उनले बताए ।

कुनै पनि बीमितले बीमा दाबी गर्दा पीसीआर परीक्षणमा पोजिटिभ भएको रिपोर्ट, संक्रमित भएपछि होम आइसोलेसनमा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस, अस्पतालमा उपचार गराएको खण्डमा अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजातसहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने पनि अध्यक्ष चापागाईंले बताए ।

अहिलेसम्म नेपालमा करिब २ हजार व्यक्तिले २० करोड रुपैयाँ बराबरको भुक्तानी पाइसकेका छन् । अहिले पनि बीमा कम्पनीमा करिब १३ हजार दाबी परेको अध्यक्ष चापागाईंले बताए ।

शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*