कांग्रेस पदाधिकारी बैठक बस्दै
मकवानपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको जानकारी दिएका छन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यालयमा दर्ता गरेको १६ बुँदे विरोधपत्रमा छलफल गरेर शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरु तय गरिने बताइएको छ ।
यसअघि गत सोमबार बसेको केही केन्द्रीय सदस्यसहित बसेको पदाधिकारी बैठकबिना निष्कर्ष टुंगिएको थियो । मंगलबार फेरि बस्न भनिएको पदाधकिारी बैठक भने प्रतिनिधिसभा सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा स्थगित भएको थियो ।
पौडेल समूहले सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधानविपरीत रहेको भन्दै गत असोज १२ मा विरोधपत्र दर्ता गरेको थियो ।
कांग्रेसले शुक्रबारदेखि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । संस्थापन समूहले बैठकबाट महाधिवेशनको नयाँ कार्य तालिका र सरकारविरुद्ध विरोधका कार्यक्रमको निर्णय गराउन तयारी गरेको छ भने पौडेल समूह आफ्ना मागलाई प्राथमिकतामा राख्न दबाब दिँदै आएको छ ।
कांग्रेसमा विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता-कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतमा विषयमा लामो समयदेखि विवाद छ ।
बाह्रखरी डटकमबाट