भारतीय सेना प्रमुख नरवणेलाई नेपाली सेनाले दियो गार्ड अफ अनर
मकवानपुर । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेले नेपाली सेनाबाट गार्ड अफ अनर पाएका छन् ।
उनलाई सेनाले आर्मी हेडक्वाटरमा बिहीबार गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि नरवणे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
उनलाई अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने छिन् । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् ।
नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति थापाले बेलुका नरवणेको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । थापाको औपचारिक निमन्त्रणमा बुधबार नेपाल आएका नरवणेले पहिलो दिन बसन्तपुर गएर जीवित देवी कुमारीको दर्शन गरेका थिए ।
यस्तै उनले पशुपतिनाथको बाहिरबाटै दर्शन समेत गरेका थिए । उनी शुक्रबार स्वदेश फर्किने छन् ।खबरहब डटकमबाट