गणना नसकिँदै सर्वाधिक मतमा बाइडेनले तोडे ओबामाको रेकर्ड
मकवानपुर ।पूर्वराष्ट्रपति बाराक ओबामाले सन् २००८ मा ६ करोड ९४ लाख बढी मतसहित अमेरिकी राष्ट्रपति चुनावको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गरेका थिए । अहिले ओबामाकै कार्यकालमा उपराष्ट्रपति रहिसेकका उमेदवार जो बाइडेनले मतगणना नसकिँदै उनको रेकर्ड तोडिसकेका छन् ।
बाइडेनले शुक्रबार बिहानसम्म ७ करोड ३४ लाख बढी मत प्राप्त गरेका छन् जुन कुल मतदानको ५०.५ प्रतिशत हुन्छ । मतगणता अझै जारी रहेको हुँदा अन्तिम सङ्ख्या यो भन्दा धेरै हुन सक्छ ।
हाल राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बाइडेनको अग्रता कायम छ जसले शुक्रबार बिहानसम्म कुल मतको ४७.९ प्रतिशत प्राप्त गरेका छन् । तर अझै हजारौँ मत गन्ती हुनै बाँकी रहेकाले दुवै उमेदवारले ओबामाको यसअघिको सार्वधिक मत रेकर्ड तोड्न सक्ने सम्भावना रहेको छ ।
अहिले बाइडेनको पक्षमा २६४ इलेक्टोरल कलेज छन् भने राष्ट्रपति निर्वाचित हुन उनले सो सङ्ख्यालाई २७० पुर्याउनुपर्ने हुन्छ ।
बाह्रखरी डटकमबाट