पूर्व सांसद वीरबहादुर लामाको स्वास्थ्य अवस्था गम्भीर
मकवानपुर । तत्कालीन नेकपा एमाले नेता, मकवानपुर जिल्ला विकास समितिका सभापती तथा पूर्व सांसद वीरवहादुर लामाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । लामाको लामो समयदेखि दुवै मृगौलाले काम गर्न छाडेपछि बेला–बेलामा डाइलासिस गराउदै आइएका थियो ।
लकडाउन लगायत विविध कारणले डाइलासिस हुन नपाएपछि पछिल्लो समय लामाको स्वास्थमा जटिल समस्या देखिएकाले चार दिनदेखि पाटन अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको लामाकी छोरी श्रमिक लामाले जानकारी दिइन् । छोरी श्रमिकका अनुसार लामाको स्वास्थ्य अवस्थामा खतरा बढ्न थालेपछि विहीवारबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
‘कोरोना भाइरसको कारण बुबालाइ समयमा डाइलासिस गराउन नपाउँदा एक्कासी स्वास्थ्य अवस्था जटिल बन्यो । ’ छोरी श्रमिकले भनिन्, ‘ अहिले बुबालाई निमोनिया भएको छ । हल्का ज्वरो पनि आएको छ ।’ कोरोनाको शंका लागेर चौथो पटक कोरोना टेस्ट गर्दा लामाको रिर्पोट नेगेटिभ आएको छ । छोरी श्रमिकका अनुसार लामाको दुई वर्ष देखि नै मृगौलाले काम गर्न छाडेको पत्ता लागेदेखि नै पाटन अस्पतालमा नियमित रुपमा डाइलासिस गराउँदै आइएको थियो ।
वि.सं.२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिको सभापती बनेका लामा वि.सं.२०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभाको सांसद बनेका थिए । वि.सं.२०६३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने राजबन्दी मध्येका लामा पनि एक थिए ।
मकवानपुर जिल्लाको फाखेल निवासी लामाले तत्कालीन नेकपा एमालेको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तत्कालीन नेकपा एमालेको केन्द्रिय सदस्यसम्म भएका लामाले पछिल्लो समय जातिय पहिचानसहितको राज्य निर्माणको विषयमा तत्कालीन नेकपा एमालेमा विवाद उत्पन्न भएपछि तत्कालीन नेकपा एमालेका नेता अशोक राइको नेतृत्वमा लामा लगायतका नेताले नेकपा एमाले छाडेका थिए ।
राजनीतिमा निरन्तर लागिपर्दा पर्दैको अवस्थामा अस्पतालमा उपचाररत लामालाई चार दिनदेखी बेहोस् अवस्थामा भेट्न कोही नेता तथा कार्यकर्ता पनि पाटन अस्पतालमा नपुगेको जनाइएको छ ।
सामाजिक संजालमा लामालाई पार्टीका नेता कार्यकर्ताले स्वास्थ्य लाभको कामना गरेपनि भेट्नका लागि भने पुगेका छैनन् ।