वीरका स्वास्थ्यकर्मीको रोकिएन आन्दोलन, भन्छन्- माग पूरा नभए सबै सेवा ठप्प बनाउँछौं

लोकखबर
२३ कार्तिक २०७७, आईतवार ११:१७

मकवानपुर ।वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन रोकिएको छैन । उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमहरु जारी राख्‍ने जनाएका छन् ।

चैतदेखि अहिलेसम्मको कोभिड भत्ता नपाएको, औषधि खरिद खर्च, सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नपाएको भन्दै स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरुले दिन एक घण्टा हातमा कालो पट्टी बाँधेर अस्पताल परिसरमा धर्ना दिँदै आएका छन् ।

अस्पताल प्रशासनलाई पटक-पटक जोखिम भत्ता र सुरक्षा सामग्रीको माग गर्दासमेत बेवास्ता गरेपछि कात्तिक २ गतेबाट धर्ना तथा आन्दोलन गर्न बाध्य भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

आइतबार पनि एक घण्टा अस्पतालमा धर्ना दिने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको स्वास्थ्कर्मी संघका अध्यक्ष खुबराज आचार्य बताउँछन् । ‘‘अहिलेसम्म हामीले शान्तिपूर्ण रुपमा धर्ना दिइरहेका छौं,’’ उनले भने, ‘‘अस्पतालमा आउने सेवाग्राहीलाई कुनै पनि असर पुर्‍याएका छैनौं ।’’ उनले आफूहरुको धैर्य र संयमलाई कमजोरी सम्झेर माग सुनुवाइ नगरिए अस्पतालका पदाधिकारीलाई प्रवेश निषेध गर्नुका साथै सबै सेवा ठप्प बनाउने चेतावनीसमेत दिए ।

अस्थायी ज्यालादारी कर्मचारीले तलब नपाएको र कोभिड अस्पतालअनुसारको सेवा-सुविधा बिरामीले नपाएकाले आदोलन गर्न बाध्य भएको उनले बताए ।

यसैगरी गत बुधबार अस्पतालका आकस्मिक विभागका १६ चिकित्सकले उपयुक्त स्रोत-सामग्री नदिएको, धम्कीपूर्ण शैलीमा साताको ९६ घण्टासम्म काम गराएको हुँदा आफूहरुको मनोबल खस्किएको भन्दै सामूहिक राजीनामा दिएका थिए । तर अस्पतालका निर्देशकले पुन: कात्तिक महिनासम्म सेवा दिन आग्रह गरेपछि सोही दिन बेलुका राजीनामा फिर्ता लिएका थिए ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार न्याम्सका कर्मचारीहरुलाई हरेक वर्ष औषधि खरिद खर्च भनेर एकदेखि डेढ महिनासम्मको तबल दिने गरेकामा योपटक कोभिडले गर्दा अस्पतालको आम्दानी कम हुँदा तलब व्यवस्थापनमा मुस्किल परेको अवस्था छ । ‘‘न्याम्सका कर्मचारीलाई अस्पतालको आम्दानीबाटै तलब खुवाउनुपर्ने हुन्छ । आम्दानी छैन तर स्वास्थ्य मन्त्रालयले निकासा गरे दिन सकिन्छ,’’ उनले भने ।
बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*