ओली पक्षको काठमाडौंमा जिल्ला भेला, जबजको पक्षमा एकढिक्का हुन निर्देशन

लोकखबर
२३ कार्तिक २०७७, आईतवार १३:५३

मकवानपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओली समूहले काठमाडौंमा जिल्ला भेला आयोजना गरेको छ ।

मदन भण्डारी फाउन्डेसनको ब्‍यानरमा भएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघीयमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेशमन्त्री रामेश्वर फुयाललगायत नेताहरू उपस्थित रहेको बताइएको छ । कार्यक्रमको सार जबजको पक्षमा बहस चलाउनु रहेको सहभागीहरूले बताएका छन् ।

“काठमाडौं जिल्ला कमिटीका साथीहरूको अनौपचारिक भेटघाट हो । उपप्रधानमन्त्री आउनुभएकाले चर्चा हुनु स्वभाविकै हो,” भेलाबारे पुष्टि गर्दै पार्टी जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण राईले बाह्रखरीसँग भने, “पार्टीको पछिल्लो विवादलाई मलजल गर्नेगरी गरिएको होइन ।”

भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले ओलीनिकट जिल्ला सदस्यलाई पार्टीले हालका लागि स्थगित गरेको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवादका पक्षमा माहौल सिर्जना गर्न निर्देशन दिएका थिए । “ईश्वर पोखरेलले जबजका पक्षमा उभिन आग्रह त गरी नै हाल्नुहुन्छ । तर, उहाँले पार्टी एकतामा आँच आउने गतिविधि नगर्न नै भन्नुभएको थियो । केन्द्रमा देखिएको विवाद छिट्टै निराकरण हुने भएकाले तलतलका सङ्गठनात्मक तथा पार्टी काम नरोक्न निर्देशन दिनुभएको थियो ।”

काठमाडौं जिल्लामा सदस्यता एकीकृत गर्नेदेखि सङ्गठनात्मक कामहरू कुनै पनि अघि बढ्न सकेका छैनन् । नगर कमिटीहरू पनि गठन भइसकेका छैनन् । बनेका कमिटीहरूले पनि पूर्णता पाइसकेका छैनन् ।

स्थायी कमिटी बैठकले नेताका नाममा खुलेका प्रतिष्ठानबाट कुनै पनि गतिविधि नगर्न, समानान्तर पार्टी काम नगर्न निर्देशन दिए पनि फाउन्डेसनले क्रियाकलाप जारी राखेको छ । कात्तिक १९ गते ओली पक्षले प्रदेश नम्बर एकको भेला राखेपछि नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ ।

प्रदेश १ को भेलालाई प्रधानमन्त्री ओलीले नै सम्बोधन गरेका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यहाँ पनि जबजको पक्षमा एकढिक्का हुन र मदन भण्डारी फाउन्डेसनका नाममा बहस चलाउन निर्देशन दिएका थिए । त्यही भेलामा पोखरेलले देशैभर यस्ता गुट भेला गर्ने पनि जानकारी दिएका थिए ।

पोखरेलले त्यस भेलामा जनताको बहुदलीय जनवाद नै पार्टीको विचार हुनुपर्ने धारणा राखेका थिए । नेकपा अहिले विचारमा प्रस्ट नभएको र त्यसको पूर्ति जबजले मात्रै गर्न सक्ने उनको भनाइ थियो । “विचारमा प्रस्ट भइएन भने हामी ठीक ढङ्गले अघि बढ्न सक्दैनौं । यो विचारमा स्पष्टताको कुरा गरिरहँदा हाम्रो विचार जनताको बहुदलीय जनवादबाट निर्देशित हुने हाम्रो निष्कर्ष हो, त्यसलाई कहिले पनि कमजोर ढङ्गले समात्न हुँदैन । अहिलेको पार्टी एकतापछि केही समयका लागि हामीले वास्तवमा महाधिवेशनसम्मका लागि अन्तरवस्तुमा जनताको बहुदलीय जनवाद रहे पनि जनताको जनवाद बोकेका हौं । साँचो कुरा के हो भने आज हामी निर्देशित भएको विचार जनताको बहुदलीय जनवाद नै हो । त्यही कुरालाई समातेर हामी अगाढि बढ्छौं,” उनले भेलामा भनेका थिए । स्रोतका अनुसार पोखरेलले शनिबारको भेलामा यही कुरा दोहोर्‍याएका थिए ।

जिल्ला कमिटी सदस्य महेश्वर फुयालले पूर्वएमालेहरूलाई एकजुट गर्न भेला डाकिएको जिकिर गरे । २ सय २५ सदस्यीय जिल्ला कमिटीमा भेलामा करिब ६५ जना सहभागी थिए । पूर्वएमाले पक्षको भेला भनिए पनि माधव नेपाल पक्षका भने कोही पनि भेलामा उपस्थित थिएनन् । जिल्ला कमिटीमा माधव पक्षका २२ जना छन् ।

काठमाडौं जिल्लामा पछिल्लो समय मदन भण्डारी फाउन्डेसन सक्रिय छ । साउनमा पनि पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्लाका नगरैपिच्छे बहस-विमर्श चलाएको थियो । रक्तदानजस्ता गतिविधिहरू गरेको थियो । फाउन्डेसन सक्रिय हुन थालेपछि नै स्थायी कमिटीले पार्टीका प्रतिष्ठानका गतिविधिमा अङ्कुश लगाएको हो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*