डीआईजी थप्ने प्रस्ताव अलपत्र, एसएसपीको सरुवा पनि रोकियो
मकवानपुर । ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप्ने प्रक्रिया मन्त्रिपरिषद्मा अलपत्र परेको छ । गत चैतको मन्त्रिपरिषद्ले प्रहरीको साधारण तर्फको २६ जना डीआईजी दरबन्दीमा १२ जना डीआईजीको दरबन्दी कटौती गरेर १४ मा सीमित गरेको थियो । त्यो बेला अध्ययन बिनै डीआईजीको दरबन्दी कटौती भएको भन्दै आईजीपी शैलेश थापा क्षेत्रीको आग्रहमा गृहमन्त्रालयले पाँच जना डीआईजीको दरबन्दी थप्नु पर्ने आवश्यक रहेको भन्दै असोजमा पुन : ५ जना डीआईजीको दरबन्दी थप्नु पर्ने प्रस्थाव मन्त्रिपरिषद्मा पेस गरिएको थियो ।
सोही प्रस्ताव २ महिनासम्म पनि मन्त्रिपरिषद्मा अलपत्र छ । जसको कारण रिक्त डीआईजीको पदपूर्ति समेत हुन सकेको छैन् । डीआईजीको दरबन्दी थप भएपछि एकै चोटी बढुवा गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय छ । हाल १४ मध्ये ३ जना डीआईजीको दरबन्दी खाली छ । निरजबहादुर शाही र प्रद्युम्न कार्की डीआईजीबाट एआईजी र सूर्य उपाध्यायले डीआईजीबाट अनिवार्य अवकाश पाएपछि उक्त ३ जनाको दरबन्दी रिक्त छ ।
तत्कालिक आईजीपी ठाकुरप्रसाद ज्ञवाली र गृहसचिव महेश्वर न्यौपानेबीचको टकरावका कारण २६ जना डीआईजीको दरबन्दी १४ मा झारिएको केही प्रहरी अधिकारीको बुझाइ छ । उच्च सोतका अनुसार प्रहरीका माथिल्लो तहको दरबन्दी संगठनको आवश्यकता भन्दा पनि गृहमन्त्री र सरकारको इच्छा अनुसार थप घट हुँदै आएको छ । शिलापत्र डटकमबाट