सचिवालय बैठकका लागि दाहाल–नेपाल समूहले ओलीलाई दिएको ‘अल्टिमेटम’ आज सकिँदै

लोकखबर
२४ कार्तिक २०७७, सोमबार १०:२४

मकवानपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले बैठकको माग गर्दै दिएको ‘अल्टिमेटम’ को समय आज सकिँदैछ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुईदिनअघि लिखित माग गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले बैठकको माग गर्दै लिखित पत्र बुझाएका थिए । तर ओलीले आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।

ओलीले पहिले दुईजना अध्यक्षबीच सहमति कायम गरेर मात्रै बैठक बोलाउने अडान लिएका छन् भने उनले आफू नै अहिले पहिलो अध्यक्ष भएको र आफ्नो सहमतिबिना कुनै पनि बैठक बोलाउन नमिल्ने तर्क गर्दै आएका छन् । दाहाल–नेपाल समूहका नेताहरु पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार र शनिबार बैठक बसेर लिखित पत्र लिएर बालुवाटार पुगेका थिए ।

केन्द्रीय कमिटी र भदौ २६ गतेको पाँचौं स्थायी कमिटीको म्यान्डेटअनुरूप प्रचण्डले कार्यकारी अध्यक्षको हिसाबले बैठक राख्न सक्ने भए पनि पार्टी एकतालाई जोगाउन अनौपचारिक बैठक गर्नुपरेको नेताहरूले बताएका छन् ।

आज अल्टिमेटम सकिएपछि पनि ओली बैठक नबोलाए के हुन्छ त भन्ने बाह्रखरीको प्रश्नमा एक नेताले भने, “अझै एकदुईदिन हेर्छौं, बैठक बोलाउनुको विकल्प छैन । कसैगरी पनि बैठक उहाँले बोलाउनुभएन भने कार्यकारी अध्यक्षले बैठक बोलाउनुहुन्छ, बहुमतका आधारमा निर्णय हुनेछ ।”

उनका अनुसार अध्यक्ष दाहालले संसदीय दलको समेत बैठक बोलाउन सक्नेछन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*