‘‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्ने निर्णयप्रति सांसदहरुको असहमति
मकवानपुर । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्ने सरकारी निर्णयप्रति सांसदहरुले असहमति जनाएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरुले सरकारको उक्त निर्णयले विभिन्न आशंका समेत उब्जाएको बताएका छन् ।
संविधान सभाको पहिलो बैठकले नै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ सर्वसम्मत रुपमा घोषणा गरिएकोले अहिले मन्त्रिपरिषदबाट परिवर्तन गर्नुले शंका उत्पन्न गराएको सांसदहरुले बताएका छन् । सांसद् लालबाबु पण्डितले संविधान सभाबाट सर्वसम्मतले घोषणा गरेको विषयमा कुनै परिवर्तन नभइ, कुनै प्रश्न नउठे पनि संसद् बन्द भएको अवस्थामा मन्त्रिपरिषदबाट पारित हुनुले शंका उत्पन्न हुने बताए ।
सांसद पम्फा भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नयाँ युगको सुरुवात भएकाले त्यसलाई न्यूनिकरण गरी त्यसको सट्टा नेपाल लेख्ने कुराले गम्भिर आशय राखेको हुन सक्ने बताए । नामको ठूलो भारी कसैलाई नभए पनि किन यस्तो गरियो भन्दै उनले प्रश्न गरे ।
सांसद यशोदा सुवेदी गुरुङले नाम सच्याउने भन्ने कुरा विहे गरेर ल्याएपछि एउटा खुट्टा छोटो भयो अर्को पनि काटेर छोटो बनाउने भन्ने कुरा जस्तै हो भनि व्यंग्य गरे ।
कुनै पनि ठाउँमा विवाद नभएको संघीय लोकतान्त्रिक गणतन्त्र शब्द सरकारलाई किन भारी भयो भन्दै उनले प्रश्न समेत गरे । सत्तारुढ दलकै नेताहरु र सत्ता बाहिर रहेका कतिपय व्यक्तिले संघीयता विरोधी अभिव्यक्ति दिइरहँदा सरकारले निर्णय गर्नुले संघीयता असफल पार्ने नियतले नै यस्तो भएको बताए ।
सांसद विजय सुब्बाले भने फरक मत राख्नुभयो । उहाँले असंवैधानिक निर्णय भए समितिले त्यसै अनुसार निर्णय गर्नुपर्ने र मुद्दा हाल्नुपर्ने बताए ।
समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिइसकेको छ । सांसदहरु सुब्बा र नवराज सिलवालले गणतन्त्रविरुद्ध जान खोजेको होइन भनेर प्रस्टीकरण दिइसकेकोले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनु नपर्ने तर्क समेत राखेका थिए ।