ओलीनिकट नेता भेटेपछि प्रचण्डले डाके सचिवालय
मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सचिवालय बैठक डाकेका छन् ।
स्रोतअनुसार अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजेका लागि बैठक डाकेका हुन् ।
सचिवालय बोलाउनुअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले बिहान प्रचण्डलाई भेटेका थिए । त्यस्तै, सोमबार पार्टी महासचिव विष्णु पौडेलले पनि प्रचण्डलाई भेटेका थिए ।
ओली पक्षका नेताहरूलाई भेटेपछि प्रचण्डले बोलाएको सचिवालय बैठक महत्वका साथ हेरिएको छ ।
ओलीले स्थायी समिति बैठक र सचिवालय बैठकमा भएको सहमति कार्यान्वयन नगरेपछि अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् ।
गत शुक्रबारको पाँच जना सचिवालय सदस्यहरूले अर्का अध्यक्ष ओलीलाई बैठकका लागि आग्रह गर्ने निष्कर्ष निकालेको थियो । त्यसको भोलिपल्ट शनिबार टोलीले प्रधानमन्त्री निवास बालुवाटर पुगेर बैठक डाक्न आग्रहसहित ओलीलाई दुईपाने ज्ञापनपत्र बुझाइएको थियो ।
शिलापत्र डटकमबाट