चिनियाँ खोपले गम्भीर असर देखाएको भन्दै ब्राजिलमा ट्रायल रोकियो

लोकखबर
२६ कार्तिक २०७७, बुधबार १०:२८

मकवानपुर । कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोपले सहभागीहरुमा गम्भीर असर देखाएको बताउँदै ब्राजिलमा भइरहेको ट्रायललाई स्वास्थ्यविद्हरुले रोकिदिएका छन् । ब्राजिलियन स्वास्थ्य निरीक्षक अन्भिसाका अनुसार घटना २९ अक्टोबरमा भएको थियो जसबारे थप जानकारी सार्वजनिक गरिएको छैन ।

चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकले निर्माण गरेको ‘कोरोना भ्याक’ खोप विश्वव्यापी रुपमा विकसित खोपहरुमध्ये अन्तिम चरणको ट्रायल गर्ने खोपमा पर्दथ्यो । उता साइनोभ्याकले चाहिँ आफ्नो खोपको सुरक्षा सम्बन्धी आफूहरु विश्वस्त भएको बताइरहेका छन् । सो कम्पनीले चीनमा आपत्कालीन कार्यक्रम अन्र्तगत हजारौँ मानिसहरुमा प्रयोग गरिसकेको छ ।

ब्राजिल कोरोना महामारीबाट सबैभन्दा नराम्ररी प्रभावित हुने देश मध्येमा पर्दछ जहाँ संक्रमित सङ्ख्या ५६ लाख भन्दा बढी छ भने हालसम्म १ लाख ६३ हजारको मृत्यु भइसकेको छ । यस्तोमा सोमबार अन्भिसाले आफूहरुले एक गम्भीर घटना पश्चात् ‘कोरोनाभ्याक’ खोपको क्लिनिकल ट्रायल रोक्ने निर्णय गरेको बताएको छ तर यसबारे विस्तृतमा जानकारी दिएको छैन ।

यही खोपको अन्तिम ट्रायल इन्डोनेशिया र टर्कीमा पनि जारी छ तर ती देशहरु कुनैले पनि यस किसिमको शंकास्पद घटनाबारे खबर गरेका छैनन् । इन्डोनेशियाको बायो फर्माले मंगलबार मात्र त्यहाँ जारी साइनोभ्याकको खोप ट्रायलमा कुनै समस्या नभएको र राम्ररी सञ्चालन भइरहेको रोयटर्सलाई जानकारी दिएको हो ।

ब्राजिलियन ट्रायल सञ्चालन गरिरहेको मेडिकल रिसर्च इन्सटिटिउट, बुटनटनका प्रमुख दिमास कोभासले स्थानीय मिडियालाई बताए अनुसार यो निर्णय केही समय अगाडि भएको एक मृत्युको घटनासँग जोडिएको छ । तरपनि सो मृत्यु खोपसँग सम्बन्धित नभएको हुन सक्नेमा उनले जोड दिएका हुन् । साइनोभ्याकले आफ्नो बयानमा हाल यो घटनाबारे ब्राजिलसँग कुरा गरिरहेको बताएको छ ।

खोपको क्लिनिकल ट्रायल केही समयका लागि रोकिनुलाई स्वभाविक मानिन्छ र यसअघि सेप्टेम्बरमा बेलायतले पनि एक सहभागीमा नराम्रो असर देखा परेपछि केही समयकालागि खोपको परीक्षण स्थगित गरेको थियो । एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटी मिलेर बनाइरहेको सो खोपको ट्रायल केही दिनमा स्वास्थ्य निरीक्षकहरुले सुरक्षित घोषणा गरेपछि मात्र पुनः सुचारु गरिएको थियो ।

विदेशमा मात्र नभएर साइनोभ्याकको खोप, चीनमा पनि अन्तिम परीक्षणको चरणमा छ । आपत्कालीन प्रयोगको कार्यक्रम अन्र्तगत चीनले साइनोभ्याकको खोप सहित अन्य दुई अनुसन्धानात्मक भ्याक्सिनलाई अहिले हजारौँ मानिसहरुमा प्रयोग गरिरहेको छ ।

गत महिना मात्र बीबीसीले चीनको यवु शहरमा सयौँ मानिसहरु खोप लगाउन लाइनमा बसिरहेको तस्बिर खिचेको थियो । आधिकारिक निकायले सुइ लगाउन चाहने जोसुकैलाई पनि वितरण गर्न स्वीकृति दिएपछि मानिसहरु खोपकै लागि भनेर लामो लाइनमा बसेका थिए ।

साइनोभ्याकले यसअघिको बयानमा आफूले निर्माण गरेको खोप कम्पनीका करिब सबै कर्मचारी र तिनका परिवारमा प्रयोग गरिसकेको बताएको छ । र चिनियाँ स्वास्थ्य अधिकारीले पनि क्लिनिकल ट्रायलमा यस खोपको कुनै गम्भीर साइड इफेक्ट देखा नपरेको जानकारी दिएका थिए । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*