यसपालि तिहारमा झिलिमिली बत्तीको व्यापार घट्यो

लोकखबर
२६ कार्तिक २०७७, बुधबार १३:१३

मकवानपुर । यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण विगतभन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम हुने व्यापारीहरुको अनुमान छ । तिहार आउन केही दिन मात्रै बाँकी रहे पनि बजारमा विगतजस्तो तामझाम भने देखिएको छैन । मानिसहरुको भिड कम हुनु, कोभिडका कारण उपत्यकाबाट धेरैजसो गाउँ फर्किनुलगायत कारण व्यापारमा कमी आउने व्यवसायीहरुको भनाइ छ ।

तिहार भन्नेबित्तिकै सम्झना आउने भनेको झिलिमिलीको हो । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि यसका विशेषता हुन् । तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यसपटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुने भएकाले व्यवसायीहरु भने निराश भएका छन् । सुन्धारा क्षेत्रमा विगत १० वर्षदेखि व्यापार गर्दै आएका मनीषविक्रम शाह कोरोनाका कारण व्यापारीहरुलाई मारमा पारेको बताए ।

तिहारमा सबैभन्दा बढी व्यापार हुने झिलिमिली बत्ती भए पनि यो वर्ष ३० प्रतिशतभन्दा बढी हुन नसकेको उनले बताए । धेरै व्यवसायीहरु विस्थापित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै सरकारले आवश्यक नीति लिएर समस्या सम्बोधन गरिदिनुपर्ने उनको आग्रह छ ।

अर्का व्यापारी भक्तिप्रसाद भट्टराई पनि बजारमा झिलिमिली बत्ती किन्नेको भिड विगतजस्तो नभएको बताउँछन् ।

नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार विगत वर्षभन्दा ४० प्रतिशत कम मात्रै बत्ती आयात भएका छन् । कोरोनाका कारण व्यवसायीहरुले भोग्नुपरेको समस्या र चीनसँगको नाकाबाट सहज रुपमा सामान आयात नहुँदा समस्या भएको महांघको भनाइ छ ।

माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली हुनेगरेकामा अहिले विद्युतीय बत्तीमा आकर्षण बढेको छ । देशमा लोडसेडिङको समस्या पनि हटेपछि विद्युतीय बत्तीमा मानिस आकर्षित भएका हुन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*