प्रदेश १ मा कोरोना संक्रमणबाट २ सय ६३ जनाको मृत्यु
मकवानपुर । पछिल्लो समय प्रदेश १ का विभिन्न जिल्लाहरुमा जटिल प्रकारका लक्षण भएका बिरामीहरुको संख्या बढ्दै गएको छ ।
कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य संस्थाहरुमा पर्याप्त मात्रामा आईसीयु, भेन्टिलेटर र अक्सिजनको अभावमा संक्रमितको मृत्युदर समेत बढेको छ ।
संघीय, प्रदेश सरकार र निजी क्षेत्रले सञ्चालनमा ल्याएका कोरोना उपचार केन्द्रहरुमा आईसीयु, भेन्टिलेटर र अक्सिजनको अभावमा जटिल लक्षण भएका संक्रमितहरुले घरमै ज्यान गुमाइरहनु परेको छ ।
यतिबेला दैनिक कोरोना संक्रमणदर अझ तीव्र गतिमा बढ्दै गएपछि प्रदेश १ मा स्थिति भयावह बन्दै गएको छ ।
कोरोना भाईरसको संक्रमणबाट प्रदेश १ मा २ सय ६३ जनाको मृत्यु भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार मंगलबार साँझसम्म प्रदेश १ मा कोरोना भाईरसको संक्रमणबाट ८१ महिला र १ सय ८१ जना पुरुषको मृत्यु भएको हो ।
१४ जिल्ला रहेको प्रदेश १ मा कोरोना संक्रमणबाट सबैभन्दा बढी मोरङ, झापा र सुनसरी प्रभावित भएका छन् ।
कोरोना संक्रमणबाट मोरङमा सबैभन्दा बढी ९४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ महिला र ६९ पुरुष छन् ।
त्यस्तै सुनसरीमा ३३ महिला ५२ पुरुष र झापामा १५ महिला ३१ पुरुषले संक्रमणका कारण ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट धनकुटामा दुई महिला दुई पुरुष, उदयपुरमा दुई महिला चार पुरुष, तेह्रथुममा तीन पुरुष, इलाममा एक महिला एक पुरुष, ताप्लेजुङमा एक पुरुष र प्रदेश १ बाहिरका दुई महिला १९ पुरुषको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ का भोजपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा, पाँचथर र ओखलढुंगामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
थप पाँय बेड थप्ने तयारी
जटिल लक्षण भएका कोरोना संक्रमितहरुले उपचार पाउन नसकेका कारण घरमै मृत्युवरण गर्नुपरेको भन्दै प्रदेश सरकारको चौतर्फी आलोचना हुन थालेपछि प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ बेड थप गर्ने तयारी गरेको छ ।
जटिल लक्षण भएका संक्रमितको सहज उपचारका लागि प्रदेशभरि अक्सिजन, आईसीयु र भेन्टिलेटरसहितका बेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।
संक्रमणदर बढ्दै गएको र जटिल लक्षण भएका कोरोना संक्रमितहरुका लागि व्यापक मात्रामा अक्सिजन, आईसीयु र भेन्टिलेटरको खोजी हुन थालेपछि सुविधासहितका बेड थप गर्न लागिएको मन्त्री घिमिरेले बताए ।शिलापत्र डटकमबाट