जानकी मेडिकल कलेजका कर्मचारी १२ दिनदेखि अनशनमा, स्वास्थ्य बिग्रिएपछि आईसीयू भर्ना

लोकखबर
२७ कार्तिक २०७७, बिहीबार १३:२७

मकवानपुर ।१२ दिनदेखि आमरण आनशनरत धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आईसीयूमा भर्ना गरिएको छ । कलेज परिसरमै अनशनरत कर्मचारी जानकी शरण यादवको पिसाबमा खराबीसँगै अन्य स्वास्थ्य समस्या देखिएपछि प्रहरीले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि ल्याएपछि आईसीयूमा भर्ना गरी उपचार थालिएको हो ।

कर्मचारी सुरक्षा व्यवस्थापनतर्फका इन्चार्ज जानकीशरण यादव र पारा मेडिकलतर्फका कुलदीप साह १६ कात्तिकदेखि अनशन बसेका छन् । अनशनमा प्रदेश सरकारका मन्त्री र नेतासमेतले समर्थन गर्दै उनीहरूको जायज माग वार्तामार्फत सम्बोधन गर्न कलेज प्रशासनसमक्ष आग्रह गरेका छन् ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले समेत अनसरत कर्मचारीको जीवन रक्षा गर्न माग गर्दै बुधवार विज्ञप्ति नै जारी गरेका छन् । अस्पताल सुधार तथा श्रम शोषण विरुद्धका माग राखेर उनीहरू अनसन बसेको ११ औँ दिन भइसक्दा पनि सम्बन्धित पक्षले बेवास्ता गरेको प्रति डा. केसीले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘उहाँहरूसँग विगतमा भएका सहमति पालना नगरिनु र अनसन बसेको ११ औँ दिन पुगिसक्दा समेत सम्बन्धित निकायबाट बेवास्ता गरिनु दुर्भाग्यपूर्ण छ । यो अवस्थामा उहाँहरूका माग यथाशीघ्र पूरा गरी जीवन रक्षा गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म कलेज प्रशासनका आधिकारी व्यक्ति र समन्वयकारी भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालयले भने कुनै चासो नदेखाएको कर्मचारी हकहित संरक्षण मञ्चका अध्यक्ष उमेश यादवले बताए । ‘हामी संस्थाको सुधारका लागि आन्दोलन गरिरहेका छौँ । तर, हामी राज्य पक्षसँग लडेको प्रशासनको बुझाइ छ,’ यादवले भने, ‘सीडीओ साबले आउनुस् वार्ता गर्नुस् भनेर भन्दै हुनुहुन्छ । तर श्रम शोषण र अन्याय भइरहेको उहाँहरू देख्नुहुन्न । दोषीलाई कानुनी दायरमा नल्याई उहाँले मालिकसँग सेटिङ मिलाएर हाम्रा माग दबाउन खोज्दै हुनुहुन्छ ।’

अस्पतालको ईमर्जेन्सी सेवा ठप्प गरी कलेजका मेडिकल स्टाफ, पारा मेडिकल स्टाफ, सुरक्षा गार्डसहित १ सय १५ जना कर्मचारी गत १२ असोजदेखि नै चरणबद्ध आन्दोलनमा छन् । भुक्तानी दिन बाँकी दुई महिनाको तलब, ६ वर्षको सञ्चय कोष र ६ वर्षको दसैँ भत्ता दिनुपर्ने उनीहरूको माग छ । यसबीचमा जिल्ला प्रहरी कार्यालयमा कर्मचारी र कलेज प्रशासनबीच भएको सहमति कार्यन्वयन नगरी उल्टै पाँच जनालाई जागिरबाटै निकालिएपछि यादव र साहले आमरण अनशन सुरु गरेका हुन् ।

कलेजबाट निकालिएका पाँचै जनाको पुनर्बहाली हुनुपर्ने कलेजको कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष उमेश यादवले बताए । सञ्चयकोष र दसैँ भत्ता र हिसाबकिताब माग्दा कलेज प्रशासनले कर्मचारीलाई जागिरबाटै हटाएको उनको भनाइ छ ।

कलेज प्रशासनले भने स्पष्टीकरण सोधिएका पाँचमध्ये दुई जनाले जवाफ दिएको र जवाफ नदिने तीन जनालाई विधानअनुसार कामबाट हटाइएको जनाएको छ । कर्मचारीले भने पाँचै जनाले स्पष्टीकरणको जवाफ दिइसकेको बताएका छन् ।

कलेजका प्रमुख प्रशासक दयानन्द झाले स्थानीय कर्मचारीले आफ्नो स्वार्थसिद्धिका लागि अन्य कर्मचारीलाई उचालेर कलेजलाई धरासयी बनाउन खोजेको आरोप लगाए ।

‘हामीले प्रक्रिया पूरा गरेरै उनीहरूलाई कामबाट निकाले हौँ । कलेज सवा अर्ब रुपैयाँ ऋणमा छ,’ उनले भने, ‘कोभिडकालमा करोडौँ घाटा सहेर पनि कर्मचारीलाई मासिक पारिश्रमिक दिँदै आएका छौँ । आर्थिक समस्याले दुई महिनाको तलब दिन सकेनौँ । अर्को महिनासम्ममा दिने तयारी गरिरहेकै छौँ ।’ शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*