महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
मकवानपुर । शीर्ष नेताहरूको विवादका कारण चार पटकसम्म स्थगित नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनको नयाँ मिति र सरकारविरूद्धको आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।
‘कोरोना महामारीले महाधिवेशन समयमा नहुने लगभग निश्चित छ आजको बैठकमा यसबारे र स्वच्छाचारी भइरहेको सरकारविरूद्ध सम्भवतः रणनीति तय हुन्छ,’ महतले भने ।
सरकारले संसद अधिवेशन स्थगित गरेर स्वच्छाचारी ढंगले अघि बढिरहेका तथा महामारीमा रहेका जनतलाई राहत हुने कार्यक्रम कार्यान्वयनमा कन्जुस्याँई गरेकाले त्यसबारे पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने महतले बताए ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच महाधिवेशनको मितिमा मतभेद छ ।
कोरोना महामारीका कारण आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तय भएको कांग्रेस महाधिवेशन नहुने लगभग निश्चित छ ।
तर, क्रियाशिल सदस्यताको नविकरण र वितरण नहुँदा तथा नयाँ मिति नतोकिँदा कांग्रेसको स्थानीय तहका अधिवेशनहरू पनि हुन सकेका छैनन् ।
पार्टीका विभिन्न विभागमा भएका नियुक्ति, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायत विषयमा शीर्ष नेताहरूबीच विवाद भएपछि चार पटकसम्म स्थगित बैठक आज हुन लागेको हो ।खबरहब डटकमबाट