उपत्यकामा चौबीस घण्टामा २७ हजार यात्रु भित्रिए, २९ हजार बाहिरिए
मकवानपुर । गएको चौबीस घण्टामा विभिन्न नाका प्रयोग गरी ६ हजार १११ वटा सवारीसाधनमा २७ हजार ७६६ जना यात्रु उपत्यका भित्रिएका छन् । सोही अवधिमा ६ हजार ४ वटा सवारीसाधनमा २९ हजार ८८२ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
चाडपर्वको समय अघिल्ला वर्षहरुमा उपत्यका छाड्नेको संख्या निकै बढी हुने गरे पनि यस वर्ष भने विगतको जस्तो यात्रु चाप छैन । कोरोना महामारीका कारण पहिल्यै लाखौं यात्रुले उपत्यका छाडिसकेकाले बाहिरिनेको संख्यामा कमी आएको हो ।
यस्तै उपत्यकामा जोर-बिजोर उल्लंघन गर्ने ७३७ वटा सवारीसाधनलाई हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ५७० वटा दुईपाङ्ग्रे र १६७ वटा चारपाङ्ग्रे सवारीसाधन थिए । ट्राफिक नियम उल्लंघन गर्ने एक हजार २४९ जनालाई उपत्यकामा हिजो ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
जसमा नम्बर प्लेट स्पष्ट नराख्ने १८३ जना, ढोका खुलै राखेर चलाउने ७६ जना, मदिरा पिएर सवारीसाधन चलाउने २० जना, लेन उल्लङ्घन गर्ने तीनजना र ठूलो आवाजको हर्न बजाउने पनि ४० जना रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाभित्र गएको चौबीस घण्टामा भएका ३१ वटा सवारी दुर्घटनामा १५ जना घाइते भएका छन् । बाह्रखरी डटकमबाट