मकवानपुरका पत्रकारलाई पेन्सन
मकवानपुर । मकवानपुरमा पत्रकारलाई पेन्सन दिइने भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाइ ६० वर्ष उमेर पुगेका पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिने निणर्य गरेको हो ।
पत्रकार महासंघ मकवानपुर शाखाको बैठकले ज्येष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधी, २०७७ को पास गर्दै पेन्सनको तयारी गरेको हो । महासंघका अध्यक्ष हरि हुमागाईका अनुसार पेन्सन प्रबन्धका लागि हेटौंडा उपमहानगरपालिकाले कोषमा दश लाख रुपैयाँ सहयोग गरिसकेको छ ।
महासंघको भोलि २६ गते शुक्रबार हुने साधारणसभाले पेन्सन सम्वन्धी कार्यविधि पारित गर्ने अध्यक्ष हुमागाईंले जानकारी दिए । महासंघ मकवानपुर शाखामा आबद्द रहेका ज्येष्ठ सदस्यको वृत्ति विकास गर्नका लागि पेन्सन दिन लागिएको जनाइएको छ ।











































