उदाहरणीय वडा अध्यक्ष भागवत घिमीरे, जसले फिर्ता गरे पालिकाले दिएको मोटरसाइकल
मकवानपुर । नियमसंगत रुपमा पाउँने सेवा सुविधा तछाँड-मछाड भइरहेको खबर त हामीले सुनेकै हो । तर, आफूले पाएको सेवा सुविधा फिर्ता गर्ने उदाहरणीय व्यक्ति पनि हाम्रै समाजमा छन् ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमीरे यस्ता व्यक्ती हुन्,जसले आफूले पाएको सुविधा फिर्ता गरेका छन् । पालिकाले उपलब्ध गराएको ना १ ब ३३०५ नम्बरको पल्सर मोटरसाइकल अध्यक्ष घिमीरेले फिर्ता गरेका हुन् । पालिकाका जिन्सी शाखा प्रमुख युवराज पौडेललाई अध्यक्ष घिमीरेले आइतबार मोटरसाईकल हस्तान्तरण गरे । पालिकाले डेढ वर्ष अघि सबै वडाका अध्यक्षलाई काम गर्न सहजताका लागि मोटरसाइकल उलब्ध गराएको थियो ।
आफू जनताको विकासका लागि निर्वाचित जनप्रतिनिधी भएकाले जनताको घरदैलोमा पुगेर काम गर्नका लागि पालिकाको सम्पति प्रयोग गर्न आवश्यक नहुने ठानेर मोटरसाइकल पालिकालाई नै फिर्ता गरिदिएको अध्यक्ष घिमीरे बताउँछन् । ‘पालिकाको सुविधाबापतको खर्च बरु वडा विकासमा लगानी गर्नेछु ।’ घिमीरे भन्छन्, ‘ पहिल्यै फिर्ता गर्ने विचार थियो, जनप्रतिनिधीले जनताको काम गरेबापत थप सुविधा लिनुपर्छ भन्ने नलागेर सुविधाबापतको मोटरसाइकल फिर्ता गरेको हुँ ।’
वडा अध्यक्ष घिमीरेको कार्यलाई जनप्रिय काम भनेर सामाजिक सन्जालमा बधाई दिइएको छ । उनले सरकारी सुविधा प्रयोग नगरी आफ्नै खर्चको मोटरसाइकल चढ्छु भन्ने भनाईले उदाहरणीय जनप्रतिनिधीका रुपमा परिचित गराएको प्रतिकृया आएका छन् । पालिकाका अन्य वडा अध्यक्षले पनि घिमीरेको झैं गर्छन् त भन्ने प्रश्न पनि विभिन्न व्यक्तीले सामाजिक सन्जालमा गरेका छन् । पाएसम्म सरकारी सेवा सुविधा लिने समाजमा फाट्टफुट्ट रुपमा उदाहरणीय व्यक्तिमध्ये घिमीरे पनि हुन् ।
पालिकाले मकवानपुरगढीका आठ वटै वडाका अध्यक्षलाई मोटरसाइकल खरिद गरी वितरण गरेको थियो ।