बागमती प्रदेशमा ‘यातायात संचालन तथा व्यवस्थापन बोर्ड’ कार्यालय उद्घाटन

लोकखबर
२९ मंसिर २०७७, सोमबार १३:१०

मकवानपुर । बागमती प्रदेश सरकारले संचालन गर्न लागेको विद्युतीय बस प्रभावकारी र व्यवस्थित गर्नका लागि कार्यालय स्थापना गरिएको छ ।

प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ११,थानाभर्‍याङमा स्थापना गरिएको कार्यालय बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले उद्घाटन गरेका हुन् ।

आगामी भदौबाट संचालनको तयारी गरेको विद्युतीय यातायात संचालन तथा व्यवस्थापनका लागि ‘यातायात सन्चालन तथा व्यवस्थापन बोर्ड’ को कार्यालय उद्घाटन गर्दै मन्त्री फुयालले प्रदेश सरकारले आफ्नो बजेटको पहिलो नीति तथा कार्यक्रममै विद्युतीय बस चलाउने उल्लेख गरेको स्मरण गरे । उनले आगामी वि.सं.२०८५ सम्म बागमती प्रदेशका सबै सडकमा विद्युतीय सवारी संचालनको व्यवस्था गरिने पनि बताए । प्रदेश यातायात सन्चालन तथा व्यवस्थापन बोर्ड गठन तथा कार्यालय स्थापनासंगै सरकारले लिएको यातायात संचालनको नीति तथा कार्यक्रम अघि बढ्ने मन्त्री फुयालले बताए । ‘ यातायात संचालनका लागि सात वटा रुट तय भएका छन् । अब चार्जिङ स्टेशन र बस खरिद संगै अघि बढाइनेछ । ’ मन्त्री फुयालले भने,‘ यातायात संचालनका लागि आवश्यक चार्जिङ स्टेशन निर्माणका लागि विभिन्न स्थानीय तहका नगर विकास, विद्युत प्राधिकरण, नीजि क्षेत्रसंग समन्वय गरिनेछ ।’

उनले मन्त्रालयले खुल्ला प्रतिष्पर्धाबाट क्षमता भएका जनशक्ति राख्दै मन्त्रालयका काम कारवाही अघि बढाउन आफूहरु लागिपरेको दाबी गरे ।
बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सहदेवबहादुर भण्डारीले प्रदेशका सात वटा रुटमा ३८ वटा बस करिब ७५ करोडमा खरिद गर्ने तयारी भएको जानकारी दिए ।

कार्यालय उद्घाटन समारोहमा पूर्वाधार विकास मन्त्रालयका सचिव सन्जिव बराल, सडक महाशाखा प्रमुख नवीनकुमार सिंह लगायतको आतिथ्यता थियो ।

प्रदेश सरकारले प्रदेशका मुख्य सहरहरुमा विद्युतीय सवारी साधन संचालनका लागि रुट तय गरिसकेको छ । पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षभित्रमा निजी क्षेत्रसँगको सहकार्यमा मुख्य सहरहरुमा विद्युतीय सवारी सञ्चालनका लागि रुट तय गरेको जनाइएको छ ।
प्रदेशको राजधानी हेटौंडा तथा अन्य सहरहरु भरतपुर, सिन्धुलीमाडी, विदुर, धुलिखेल, काठमाडौं उपत्यका र धादिङबेंसीमा पहिलो चरणमा विद्युतीय यातायात संचालनका लागि रुट तयार भइसकेको मन्त्रालयको भनाई छ ।

विद्युतीय यातायात संचालनका लागि प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानी रहनेछ । पहिलो चरणमा प्रदेश सरकारको मात्र लगानीमा धुलिखेलबाट बनेपा, काठमाडौं, धादिङ, चितवन, हेटौंडा, सिन्धुली हुँदै धुलिखेलका रुटमा विद्युतीय बस सञ्चालनको तयारी गरिएको छ ।
प्रदेश सरकारले स्वायत्त निकाय स्थापना गरेर प्रदेश राजधानी हेटौंडाबाट धुलिखेलसम्म विद्युतीय बस सञ्चालन गर्ने तयारी अगाडि बढाएको थियो । मन्त्री फुयाँलका अनुसार चार्जिङ स्टेसन निर्माणका लागि १ सय १९ स्थानीय तहलाई सूचना आह्वान गरिसकिएको छ ।

भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, कागेश्वरी मनोहरा र शंकरापुर नगरपालिका, गल्छी गाउँपालिकालगायत आठ स्थानीय तहले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने आशय पत्र मन्त्रालयमा पठाइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*