मौसम अपडेट :
बागमती प्रदेशमा आंशिक बदली रहने संभावना

मकवानपुर । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले हाल पश्चिमी तराई भू–भागका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा हल्का हुस्सु–कुहिरो लागिरहेको छ ।
आज (शुक्रबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने बताइएको छ । देशका अधिकांश स्थानहरूको तापक्रममा हल्का गिरावट आई चिसो बढ्नसक्ने अनुमान गरिएको छ । आगामी २४ घण्टाको अनुमान अनुसार देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
पछिल्लो पटक मापन गरिए अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री र अधिकतम तापक्रम १८.३ डिग्री सेल्सियस रहेको जनाइएको छ ।