के होला बागमती प्रदेश सरकार ?
मकवानपुर । पार्टीको आन्तरिक विवाद मिलाउन नसक्दा प्रतिनिधीसभा विघठन गरेपछि उत्पन्न नेकपा फुटको असर प्रदेश सरकारहरुमा पर्ने भएको छ ।
प्रधानमन्त्री ओलीनिकट बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद धरापमा परेको छ । ओलीकै शैलीमा आफूखुशी प्रदेश सरकार चलाइरहेको आरोप खेपिरहेका पौडेल नेकपाको संसदीय दलमा अल्पमतमा रहेका थिए । प्रदेशसभामा कुल एक सय १० सदस्यमध्ये नेकपाका ८० सांसद रहेका छन् । यसमा प्रचण्ड–नेपालको पक्षमा ४६ र ओली पक्षका ३४ जना सांसद रहेका छन् । मुख्यमन्त्री पौडेललाई बहुमत नपुग्ने देखिएकाले उनी धरापमा छन् । पौडेललाई बहुमत जुटाउन २२ जना सांसद अभाव देखिन्छ ।
बागमतीमा कांग्रेसले साथ दिएमा पौडेल मुख्यमन्त्रीमै निरन्तर हुनसक्ने अवस्था बन्छ अन्यथा उनलाई अविश्वास प्रस्ताव गरी हटाउने अवस्था छ । पार्टीमा विवादकै बेलामा मुख्यमन्त्री हटाउने तयारी भएको बेलामा पार्टी केन्द्रको हस्तक्षेपले रोकेको थियो । अहिले त केन्द्रमा समानान्तर पार्टी बनेको बेलामा मुख्यमन्त्री पौडेलले पद जोगाउन सक्ने अवस्था छैन । उनलाई कांग्रेसको साथ लिन सके भने बहुमतमा हुनेछन् । अन्यथा पार्टी विवादको भूमरीमा पौडेल पर्नेछन् ।
बागमतीमा प्रदेश सभामा कांग्रेसका २२, विवेकशील साझा दलका तीन, राप्रपा र नेमकिपाका दुई–दुई र एक स्वतन्त्र सांसद छन् । बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेसबाट मुख्यमन्त्री बन्ने सम्भावना पनि देखिन्छ । विवादमा पुगेको नेकपाका सांसदलाई आफूतिर तानेर कांग्रेसले मुख्यमन्त्री पद लिने सम्भावना छ ।
प्रदेशमा मुख्यमन्त्री पौडेललाई हटाएर सरकारको नेतृत्व गर्न प्रचण्ड–नेपाल पक्षलाई पनि कांग्रेसको सहयोग चाहिने अवस्था छ । यो समूहलाई बहुमत पु¥याउन १० सांसद आवश्यक पर्दछ ।