ओलीको कदम विरुद्द उत्रन निर्देशन
मकवानपुर । प्रचन्ड-माधव नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधीसभा विघठनका विरुद्द उत्रन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्द पार्टी केन्द्रीय संघर्ष समितिले सर्कुलर गरिएको संघर्षको कार्यक्रमहरुलाई सफल बनाउन नेकपाले आग्रह गरेको हो ।
पार्टी जिल्ला कमिटीको शनिबार बसेको बैठकले यही पौष २५ गतेभित्र मकवानपुरका सबै स्थानीय तह र गाउँ पार्टी कमिटीको बैठक गर्ने निर्णय गरेको छ ।
नेकपा मकवानपुरका अध्यक्ष मनु सिग्देलको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।
बैठकमा पार्टी केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विरोध खतिवडा, केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला सहइन्चार्ज कुमारी मोक्तान, प्रदेश सदस्यहरु ओम घलान, पार्टी सचिव सूर्य न्यौपाने, सर्केस घलान लगायतका उपस्थिति रहेको पार्टी जिल्ला सचिव प्रेमबहादुर पुलामीले जानकारी दिए ।