नदिइएको भनिएको राजिनामा पार्टी फुटपछि स्वीकृत, विष्ट भन्छिन् -कानूनी उपचार खोज्छु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । अध्यक्ष एकराज उप्रेतीका अनुसार गत शुक्रबार बसेको बैठकले उपाध्यक्षले पदबाट दिएको राजिनामा स्वीकृत गरिएको हो । तर, उपाध्यक्ष विष्टले भने आफूले राजिनामा नदिएको दाबी गरेकी छिन् ।
उपाध्यक्ष विष्टले हेटौंडामा पत्रकार सम्मेलन गरी आफूले दिँदै नदिएको राजिनामा दिएको भनेर आफूमाथि अन्याय गरिएको दाबी गरेकी छिन् । गाउँपालिकाका कर्मचारीले बेलाबेलामा विभिन्न कागजमा सही गराउँने क्रममा आफूलाई झुक्काइएको विष्टको आरोप छ । पालिकाका विभिन्न कामका क्रममा आफूसंग असन्तुष्ट एक जना कर्मचारीले कागजमा गराएको सहीलाई राजिनामा बनाइएको हुनसक्ने आफ्नो आशंका रहेको उपाध्यक्ष विष्टको भनाई छ । उपाध्यक्ष विष्टले राजिनामा दिँदै नदिएको भनेर दाबी गरिरहँदा आइतबार विष्टले दिएको भनिएको राजिनामा सन्चारमाध्यममा सार्वजनिक भइसकेका छन् ।
विष्टले भने आफू जनताबाट निर्वाचित भएकाले जनताले नभनेसम्म राजिनामा नदिने बताइन् । किर्ते राजिनामा तयार गरेर आफूलाई फसाइएकाले अब कानूनी लडाईमा अघि बढ्ने विष्टको भनाई छ । अध्यक्ष उप्रेती र विष्ट एउटै पार्टी नेकपा एमालेबाट चुनाव जितेर आएपनि एकीकरणपछि बनेको नेकपा फुटेका कारण त्यसको सिकार आफू भएको विष्टको गुनासो छ । ‘अध्यक्ष एकातिर लाग्नुभएको छ । म त कतै लागेको छैन । पार्टी फुटको असरले पनि म माथि प्रहार भएको हुनसक्छ । ’ विष्टले भनिन् ।
उपाध्यक्ष पदबाट विष्टले राजिनामा दिएको खबर राष्ट्रिय तथा स्थानीय सन्चारमाध्यममा खबर बाहिरिएपछि पालिकाको बैठक बसेर बाहिर आएका खबर झुट भएको दाबी सहित त्यस्ता खबर नलेख्न पालिकाले विज्ञप्ति नै जारी गरेको थियो । पालिकाको निर्णय पछि विज्ञप्ति नै जारी गरिसकिएपछि अहिले आएर राजिनामा स्वीकृत गरिएको भन्नु आफूलाई फसाइएको विष्टले बताएकी छिन् ।