मकवानपुरगढी गाउँपालिका बालमैत्री घोषणाका लागि तयारी सुरु
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री बनाउँन तयारी सुरु गरिएको छ । बालमैत्री गाउँपालिका घोषणाका लागि आवश्यक तयारी स्वरुप आज (शुक्रबार) गाउँपालिकामा एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
मकवानपुरगढी गाउँपालिका, महिला तथा बालबालिका शाखाको आयोजनामा आयोजित अभिमुखीकरणमा बालमैत्री गाउँपालिका बनाउँनका लागि आवश्यक सूचकबारे छलफल गरिएको छ ।
आगामी २०७८ सालभित्र पालिकालाई बालमैत्री घोषणा गर्ने योजनाका साथ अहिले तीन वटा वडालाई नमूना बालमैत्री घोषणा गर्ने आवश्यक तयारी गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ लाई सुरुमा बालमैत्री घोषणा गर्ने र पालिकालाई नै बालमैत्री घोषणा गरिनेछ । ‘ आजको अभिमुखीकरणबाटै पालिकालाई बालमैत्री बनाउँने अभियान सुभारम्भ भएको छ । बालमैत्री घोषणाका लागि केही सूचक पूरा भइसकेका छन् । पूरा हुन बाँकी सूचक अब पूरा गर्न लागिपर्नु छ । ’ अध्यक्ष हुमागाईंले अभिमुखीकरणमा सम्बोधन गर्दै भने । केवल घोषणाका लागि मात्र घोषणा नभई सुशासन र समृद्दिको अभियानको कडीमा बालमैत्री अभियान अघि बढाइने अध्यक्ष हुमागाईंको भनाई छ ।
अभिमुखीकरण कार्यक्रममा पालिकामा अहिले बालमैत्री घोषणाका लागि हालसम्मको पूरा भएका सूचकबारेमा छलफल गरिएको थियो । पालिकाका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमीरे, वडा नम्बर ५ का अध्यक्ष एवं पालिका स्तरीय बालअधिकार समितिका अध्यक्ष जीतबहादुर घिमीरे, वडा नम्बर ६ का अध्यक्ष टीकाप्रसाद दाहाल, पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, पालिकामा क्रियाशील विभिन्न सामाजिक संस्थाका प्रतिनिधी लगायतको सहभागिता थियो ।
कार्यक्रममा बाल बचाउ, बाल संरक्षण, बालविकास, बाल सहभागिताको सूचकका बारेमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका बालअधिकार स्रोतव्यक्ति बद्री वाग्ले सहजीकरण गरेका थिए ।
गाउँपालिकाको शिक्षा प्रमुख रामबहादुर घलान, स्वास्थ्य प्रमुख ध्रुव लामिछानेले पालिकाको स्वास्थ्य र शिक्षामा बालबालिकाको पहुँचका बारेमा जानकारी गराएका थिए भने सरोकारवालाले बालमैत्री पालिका घोषणाका लागि आवश्यक पूर्व तयारीका बारेमा छलफल गरेका थिए ।
अभिमुखीकरण भेलामा बालमैत्री अभियानका लागि आवश्यक कार्य योजना तयार पार्नका लागि प्रमुख प्रशासकीय अधिकृत पुडासैनीको संयोजकत्वमा एक समिति पनि निर्माण गरिएको छ ।