‘ओलीले संविधानमाथि आक्रमण गरेकाले खबरदारी आवश्यक ’

लोकखबर
२७ पुष २०७७, सोमबार ०६:११

मकवानपुर । नेकपा मकवानपुरले आइतबार हेटौंडामा जनवर्गीय संगठनहरुको भेला आयोजना गरेको छ । पार्टी मकवानपुर अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा आयोजित भेलामा सहभागी बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि आक्रमण गरेर देशलाई अन्धकारतर्फ धकेल्न खोजेकाले खबरदारी आवश्यक भएको जोड दिएका छन् ।
भेलाका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चालेर देशमा अस्थिरता कायम गर्दै पश्चगमनतर्फ धकेल्ने कोशिस गरेको बताए ।
दाहालले ओलीले चालेको कदम देश, जनता र लोकतन्त्रमाथिको प्रहार भएकाले सबैले एकसाथ प्रतिकारमा उत्रनुपर्ने बताए । प्रधानमन्त्रीको कदमलाई उनकै आशेपासेले समेत खुलेर ठिक छ भन्न नसकेको उल्लेख गर्दै संविधानले नदिएको अधिकार प्रयोग गरेर जनताको मतमाथि भएको प्रहारको प्रतिफल ओलीले चाडै पाउने उनले उल्लेख गरे । उनले ओलीको गैरसंवैधानिक कदम धेरैदिन नटिक्ने बताए ।
भेलामा पार्टीको केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज कुमारी मोक्तान, प्रदेश सदस्य सर्केश घलान, ललित घलान, जिल्ला कार्यालय सदस्य बद्री लम्साल, श्रीधर पोखरेल, कमानसिं पाख्रीन, शेरबहादुर पहरी, गोविन्दराम चेपाङ, युवा संघ मकवानपुरका इन्चार्ज सुमन पाख्रिनलगायतको सहभागिता थियो ।
नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष भगवती पुडासैनी, युवा संघ मकवानपुरकी जिल्ला सहइन्चार्ज आरती पाठक, युवासंघका सहसंयोजक राज मोक्तान, अनेरास्वियुका केन्द्रीय सदस्य किशोर टण्डन, पविना स्याङ्तान, महिला संघकी केन्द्रीय सदस्य मानकुमारी नेपालीलगायतले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए ।
विभिन्न जनवर्गिय संगठनका इन्चार्ज, सहइन्चार्ज, संयोजक, सहसंयोजक र सदस्य तथा पार्टीका नेताहरुको सहभागिता रहेको कार्यक्रम नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले सञ्चालन गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*