निर्वाचन कार्यालयको छलफल नेकपा र जसपाद्वारा बहिस्कार
मकवानपुर । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आज (आइतबार) आव्हान गरेको चुनाव सम्बन्धि छलफल नेकपा र जसपाले बहिस्कार गरेका छन् ।
मकवानपुरमा चुनावका लागि आवश्यक मतदाता अद्यावधिक कार्य, बुथ संख्या थपघट लगायत निर्वाचनसंग सम्बन्धित कार्यका बारेमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक प्रचन्ड–माधव समूहको नेकपा र जनता समाजवादी पार्टी (जसपा)ले बहिस्कार गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले संविधान विपरित प्रतिनिधीसभा विघठन गरी वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा गर्नु प्रतिगामी कदम भन्दै निर्वाचनसंग सम्बन्धित कार्यमा आफूहरु सहभागी नहुने भन्दै मकवानपुरमा बहिस्कार गरिएको हो । नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य एवं जिल्ला संगठन विभाग सह संयोजक कमानसिं पाख्रीन पाख्रीन (पृथक), पार्टीका जिल्ला सचिवालय सदस्य तथा पार्टी कार्यालय सचिव तिलक अधिकारी, जसपा मकवानपुरका नेता राजेन्द्र सिम्खडा, सुरेन्द्र भट्टराईले संविधान विपरित घोषणा गरिएको चुनाव हुनै नसक्ने भन्दै संविधान विपरितका कार्यमा आफूहरु सामेल हुन नसक्ने भन्दै निर्वाचन कार्यालय मकवानपुरले राखेको छलफललाई बहिस्कार गरेका हुन् । ‘संविधान मासेर ताजा जनादेशमा जान खोज्नु प्रतिगमनकारी कार्य भएकाले त्यस्तो कार्यमा हामी सहभागी हुने कुरा भएन ।’ नेकपा नेता पाख्रीनले भने,‘ अहिलेको आवश्यकता संविधानलाई ठीक ठाउँमा ल्याउनु हो । देशभक्त पार्टी तथा व्यक्तिले प्रधानमन्त्रीको प्रतिगामी कदमलाई सहयोग गर्ने होईन, विरोध गर्नुपर्छ ।’ चुनावको तयारीका लागि भन्दै बैठक आव्हान गर्नु गलत भएको बताए ।