‘असफलता लुकाउन ओलीले प्रतिनिधिसभा विघटन गरे’
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचन्ड-माधव पक्षले बागमती गाउँपालिका वडा नम्वर –२ राइगाउँमा वडा स्तरीय अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण भेला आयोजना गरेको छ।
भेलामा नेकपा बागमती प्रदेश कमिटी सदस्य एवं बागमती गाउपालिका अध्यक्ष सर्केस घलानले प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमलाई जनताले नदिने बताए । ‘ प्रधानमन्त्री ओलीले आफ्नो असफलता लुकाउन प्रतिनिधिसभा विघटन गरेका हुन् । ’ उनले भने,‘प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको बदनाम गराएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेका छन् । ’
यस्तै, नेकपा जिल्ला सचिवालय सदस्य एवं मकवानपुर जिल्ला संगठन विभाग सह-संयोजक कमान सिं पाख्रीन (पृथक) ले ओलीले अराजकता र भ्रष्टहरुको संरक्षणको नेतृत्व गरिरहेको आरोप लगाए । उनले ओलीले संघीय गणतान्त्रिक संविधानमाथि आक्रमण गरेर छवि गुमाएकोको बताउँदै जनविश्वास गुमाएको दाबी गरे ।
नेकपा बागमती गाउँपालिका २ का वडा पार्टी अध्यक्ष सुदर्शन घिमेरेको अध्यक्षतामा भएको भेलामा पार्टी सचिवालय सदस्य ज्ञानसागर भोलन, जिल्ला कमिटी सदस्य बच्चु खडका गोले ,मंगल रखाल मगर,गाउँपालिका पार्टी कमिटी अध्यक्ष अरुण बल, कार्यलय सदस्य एवं ४ नम्बर वडाध्यक्ष रहरमान थिङ, सचिवालय सदस्य एवं वडा कमिटी इन्चार्ज प्रभात लामा, मुक्ति लामा, मनोज बल लगायतकाले धारणा राखेका थिए ।