हेटौंडाको शहीद स्मारकमा शहीदको सम्झना
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शहीद दिवस मनाइएको छ । शहीद शहीद स्मारक विकास समितिको आयोजनामा हेटौंडा ११ मा रहेका शहीद स्मारक परिसरमा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीदका सपना साकार पार्न सबै लाग्नुपर्ने बताए । उनले प्रमुख दल आपसी वादविवादमा नअल्झि जनता र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा स्मारकमा रहेको शहीद प्रतिमामा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री पौडेलले पुष्पगुच्छा अर्पण गरे ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बनियाँले शहीदले गरेको त्यागलाई उच्च सम्मान गर्नुपर्ने उल्लेख गरे । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, शहीद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले मन्तव्य व्यक्त गर्दै शहीदप्रति श्रद्दान्जली अर्पण गरे ।
कार्यक्रम स्थल स्मारक पुग्नुअघि हेटौंडा उपमहानगरपालिका–११ थाना भर्याङबाट र्याली निस्किएको थियो ।