भाषा, संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्द : मुख्मन्त्री पौडेल

लोकखबर
२०७७ माघ १७, शनिबार ०७:४५

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देवास राई भाषा लेखनशैली र देवास राई कृति संगालो विमोचन गरेका छन् ।  किराँत देवास राई उत्थान समाज नेपालले प्रकाशन गरेको पुस्तकको शुक्रबार हेटौंडामा विमोचन गरिएको हो ।

देवास राई भाषासम्बन्धी पुस्तक विमोचन गरेपछि संविधानले भाषा, संस्कृति जगेर्ना गर्न जोड दिएको भन्दै उनले सरकारले पनि पहिलो प्राथमिकता दिएको दाबी गरे। ‘स्थानीय क्षेत्रमा बाहुल्य रहेको जातिको भाषामा पाठ्यक्रम तयार गरि पठनपाठन भइरहेको छ,’ उनले भने, ‘नेपाल जातजातिको सुन्दर फूलबारी हो, भाषा, संस्कृति संरक्षण गर्न सरकार प्रतिवद्ध छ ।’

चितवनमा थारू संग्रहालय उदघाटन गरेको भन्दै उनले भने, ‘भावी पुस्ता र अन्य समुदायका लागि पनि उपयोगी संग्रहालय बनाउन अगाडी बढ्नुहोस्, सरकारले सहयोग गर्छ ।’ कार्यक्रममा पूर्व संविधानसभा सांसद प्रल्हाद लामिछाने, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्ट, किराँत राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य शंकर राई, किराँत देवास राई उत्थान समाज नेपालका केन्द्रीय सदस्य प्रमोदकुमार राई लगायतले जातजातिको भाषा, संस्कृति देशको गहना र सम्पत्ति भएकाले राज्यले लगानी बढाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
किराँत देवास राई उत्थान समाज नेपालका केन्द्रीय महासचिव राजमान देवास राईले सहजीकरण गरेको कार्यक्रम किराँत देवास राई उत्थान समाज नेपालका मकवानपुर अध्यक्ष आश्मान देवास राईको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा किराँत देवास राई उत्थान समाजका केन्द्रीय सल्लाहकारहरु प्रेम राई, ज्ञानबहादुर राई, निवर्तमान सहकोषाध्यक्ष चन्द्रबहादुर राई लगायतको आतिथ्य रहेको थियो । वि.सं. २०६१ मा दर्ता भएको किराँत देवास राई उत्थान समाज नेपालको ९ जिल्ला समिति र इकाई समितिहरु गठन गरिएको बताईएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको