मकवानपुरगढीलाई आगामी २०७८ मंशिरसम्म बालमैत्री बनाउँन सामुहिक प्रतिबद्दता
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउँन सरोकारवालाले सामुहिक प्रतिबद्दता जनाएका छन् । आगामी २०७८ साल मंशिरसम्म गाउँपालिकालाई बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणाका आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न पालिकाका जनप्रतिनिधी,राजनीतिक दल, कर्मचारी तथा सरोकारवाला लगायतले हस्ताक्षर गर्दै सामुहिक प्रतिबद्दता व्यक्त गरेका हुन् ।
पालिकाका अध्यक्ष विदुर हुमागाईं, उपाध्यक्ष हर्कमाया रुम्बा, पालिकाका ७ वटै वडाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतले बालमैत्री स्थानीय शासन नीतिगत अबलम्बन तथा घोषणाका लागि सामुहिक प्रतिबद्दतामा हस्ताक्षर गरेका हुन् । ‘हामी मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दल, बालबालिका, सेवाप्रदायक, विषयगत शाखा, संघसस्था, विद्यालय, सुरक्षा निकाय लगायत विभिन्न मुख्य सरोकारवालाहरूले संविधानको मौलिक हक, धारा ३८, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि तथा स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ बमोजिम मकवानपुरगढी गाउँपालिकामा बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट सक्रिय एवं अर्थपूर्ण सहभागिता जनाई यस गाउँपालिकालाई मिति २०७८ मंसिरभित्र बालमैत्री गाउँपालिका घोषणाको लागि पूर्णरूपले सहयोग गर्न र गराउनका लागि यो सामुहिक हस्ताक्षर गरी प्रतिवद्धता जाहेर गर्दछौं ।’ प्रतिबद्दतामा उल्लेख छ ।
प्रतिबद्दतासंगै अब बालमैत्री घोषणाका लागि आवश्यक तयारीमा पालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, पालिकाका शाखाका शाखा प्रमुखहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, सहकारीका प्रतिनिधी, टोल विकासका प्रतिनिधी, बालबालिकाका क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधी लगायत सरोकारवाला लागिपर्नेछन् ।
बालमैत्री घोषणाको आवश्यक तयारीका लागि सरोकारवालालाई बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण प्रदान गर्दै उनीहरुबाट सामुहिक प्रतिबद्दता लिइएको हो । बालमैत्रीका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवेले पालिकाका सरोकारवालालाई बालमैत्री अभियान सफल बनाउँन आवश्यक तयारीका लागि सहजीकरण गरेका छन् । पालिकामा आयोजित दुई दिने अभिमुखीकरणमा राष्ट्रिय सहजकर्ता चौवेले बालअधिकार, बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री घोषणाका लागि आवश्यक सूचक लगायतका विषयमा सहजीकरण गरेका हुन् ।
पालिकाका अध्यक्ष विदुर हुमागाईं सरोकारवालाबीचको उपस्थितीमा बालमैत्री घोषणाको आवश्यक तयारी सुरुवात भएको बताउँछन् । ‘बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाका लागि लागिपर्ने सरोकारवालालाई अभिमुखीकरण प्रदान गरिएसंगै आगामी दिनमा कार्य अघि बढाइदैछ ।’ अध्यक्ष हुमागाईं भन्छन्,‘पालिकाका सबै वडामा आवश्यक तयारीका लागि हामी योजनाबद्द रुपमा लागिसकेका छौं ।’
पालिकाले अघि सारेको ‘मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारा सार्थकर्ता दिनका लागि पनि बालमैत्री घोषणा आवश्यक भएको अध्यक्ष हुमागाईंको भनाई छ । ‘हामीले पालिकालाई विकास तथा समृद्दिमा फड्को मार्नका लागि सघाउ पुर्याउँन बालमैत्री अभियान सफल बनाउँनुछ ।’ हुमागाईं भन्छन् । यसका लागि पालिकाले ‘बालमैत्री स्थानीय शासन, मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान’ नारा समेत तय गरिएको हुमागाईं बताउँछन् ।