हेटौंडामा खुकुरी प्रदर्शनदेखि मेयरको छोराको प्रतिकारसम्म

छिन्तु कुटिए, ओली पक्षका युवाले हड्तालको विरोध गरे !
लोकखबर
२३ माघ २०७७, शुक्रबार ०६:०५

मकवानपुर । प्रचन्ड–माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आव्हान गरेको आमहड्तालको मकवानपुरमा पूर्ण प्रभाव मात्र परेन, सडकमा तनावको अवस्था समेत बन्यो । आन्दोलनकारी कार्यकर्ताको भीडमा अज्ञात समूह छिरेर खुकुरी प्रदर्शन गर्नेदेखि मेयरको छोरो हुँ भन्दै आमहड्ताल प्रतिकार गरेको घटनाले मकवानपुरको हेटौंडा दिनभर तात्यो । यतिमात्र होइन आमहड्ताल आव्हान गर्ने नेकपाका मकवानपुर सचिवले प्रहरीबाट कुटाई पनि खानु परेको छ ।
आमहड्तालाई सफल बनाउँन भन्दै नेकपा प्रचण्ड–माधव समूहका जिल्ला नेता,कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधीसभा विघठन र संवैधानिक निकायमा गरिएको नियुक्तीको विरोधमा नारा लगाउँदै गर्दा एक व्यक्ति खुकुरी सहित प्रकट भए । राजाको पक्षमा नारा लगाउँदै खुकुरी प्रदर्शन गरेपछि तनावको अवस्था सिर्जना भएको थियो । आन्दोलनलाई बदनाम गराउँन नेकपा ओली पक्षबाट खुकुरी प्रदर्शन गराइएको भन्दै आन्दोलनकारी आक्रोशित भएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित पुगेर घटनामा संलग्नको खोजी गरी आवश्यक कारवाही गर्ने प्रतिबद्घता व्यक्त गर्नुपरेको थियो ।
आन्दोलनमा खुकुरी बोकेर आतंकित पार्ने व्यक्तिलाई खोजेर आवश्यक कारवाही गर्नका लागि आमहड्ताल कर्ता नेकपाका नेताहरुको दबाब जारी रहँदै गर्दा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का दिलिप संजेललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाका अनुसार आम हड्तालमा छिरेर खुकुरी नचाउँने सन्जेलमाथि थप अनुसन्धान भइरहेको छ । आम हड्तालमा सहभागी नेकपा नेतृ लक्ष्मी माझी कृपाले आन्दोलनमा छिरेर आफूहरुलाई बदनाम गराउँन खोज्नेबाट यस्ता गतिविधी भएको आरोप लगाइन् । ‘खुकरी प्रदर्शन गर्दै राजा आउ देश बचाउ, केपी ओली जिन्दावाद भनेको सुनियो । ’ नेतृ माझीले भनिन्, ‘प्रतिगमन विरुद्घको आन्दोलनमा घुसेर हामीलाई बद्नाम गर्न खोजिएको हो । ’
यस्तै, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतका छोरा रुपक महत आमहड्ताल स्थलमा बाइक चढेर प्रतिकार गर्न खोज्दा आक्रोशित आन्दोलनकारीले उनको बाइक तोडफोड गरेका छन् । मेयरको छोरो भएर दादागिरी देखाएको भन्दै बन्दकर्ताले उनी चढेको मोटरसाइकल तोडफोड गरिदिएका हुन् । उपस्थित बन्दकर्ताका अनुसार सीमाचोकमा जम्मा भएर बसेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताको अगाडी गएर थर्काउदै हेलमेटले हान्न खोजेपछि उनी चढेको मोटरसाइकल कार्यकर्ताले तोडफोड गरेका हुन् । प्रहरी र नेकपाका नेता तथा कार्यकर्ता बीच झडपको अवस्था समेत बन्न पुगेको थियो । आम हड्ताल सफल बनाऔं भन्दै विहानै सडकमा निस्किएको नेकपा मकवानपुरका सचिव एवं बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी छिन्तु पक्राउ परे । उनी पक्राउ मात्र परेनन् । प्रहरीको गाडीमा कोचिएपछि उनी प्रहरीबाट कुटिएका छन् । प्रहरीले उनको टाउको मुख, नाकमा हानेको उनले बताए । प्रहरीबाट छुटेपनि उनी फेरि बन्दमा सामेल भएका थिए । यस्तै, अनेरास्ववियुका निद्यार्थी नेता रामकृष्ण शिवाकोटी पनि पक्राउ परी केही समयपछि छुटेका थिए ।
देशव्यापी आव्हान गरिएको आममहड्ताल बागमती प्रदेशको राजधानी हेटौंडामा आज (बिहिबार) बिहानैदेखि सवारीसाधनलाई रोकिएका थिए । साँझ ५ बजे हड्ताल सकिएपछि रोकिएका मालबाहक सवारी साधन, यात्रुबाहक बस सुचारु भएका थिए ।
आम हड्ताललाई काउन्टर दिने भन्दै नेकपा ओली पक्षीय केही विद्यार्थी, युवाले हेटौंडा खुल्ला छ भन्दै सडकमा नाराबाजी समेत गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*