मकवानपुरको दामन-पालुङमा हिमपात

लोकखबर
२५ माघ २०७७, आईतवार ०६:०९

मकवानपुर ।  मकवानपुरको दामन र पालुङ, दोलखाको कालिन्चोकसहित गौरीशंकर संरक्षण क्षेत्रका विभिन्न स्थान तथा सिन्धुपाल्चोकको शेर्माथान, हेलम्बु, पाँचपोखरीलगायतको क्षेत्रमा पनि हिउँ परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रबाट सुरु भएको हिमपात शनिबारसम्म प्रदेश १ को उच्च पहाडी र हिमाली क्षेत्रसम्म परेको जनाएको छ । ‘देशैभर हिउँदे वर्षासमेत भएको छ,’ महाशाखाले भनेको छ, ‘सोमबारदेखि मौसममा सुधार आउनेछ ।’

हिमपातसहित शनिबार देशैभर हल्कादेखि मध्यमखालको वर्षा भएको छ । ढिलै भए पनि हिउँदे वर्षा हुँदा कृषि बाली लगाउन समस्यामा परेका किसानलाई राहत मिलेको छ । हिउँदका तीन महिना (डिसेम्बर-फेबु्रअरी) सम्म ६०.९ मिलिमिटर वर्षा हुने भए पनि शुक्रबारसम्म जम्मा ६.८ मिलिमिटर मात्र वर्षा भएको थियो । अघिल्ला वर्षको तुलनामा यो वर्षको हिउँद सुक्खा भएको छ । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित अपिनाम्पा संरक्षण क्षेत्र, बझाङ, बाजुरा, डडेलधुरा, कर्णाली प्रदेशका मुगुस्थित रारा, मुर्मा, खत्याड, किम्री र डोल्फु, उपल्लो डोल्पाका विभिन्न स्थान, जुम्ला तथा गण्डकी प्रदेशको कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, लमजुङलगायत जिल्लामा भारी हिमपात भएको छ ।

वाग्मती प्रदेशको रसुवा, धादिङ, मकवानपुर, दोलखा तथा प्रदेश १ को सोलुखुम्बुका विभिन्न बस्ती, संखुवासभा, इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानमा समेत बाक्लो हिमपात भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुका पुराना गुम्बा र मन्दिर हिउँले सेताम्मे भएका छन् ।  इकान्तिपुरबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*