बागमती प्रदेशसभा : सभामुख सरकारको रबरस्ट्याम्प बनेको आरोप

शिव चौलागाईं
५ फाल्गुन २०७७, बुधबार १६:४५

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचन्ड-माधव पक्षले बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई मुख्यमन्त्री डोरमणि पौडेलको रबर स्ट्याम्प बनेको आरोप लगाउँदै अविश्वासको प्रस्तावलाई छिटो टुङ्ग्याउँन माग गरेको छ ।

आज फागुन ५ गतेका लागि आव्हान गरिएको प्रदेशसभाको बैठक अनिश्चिकालका लागि स्थगित गरिएको सूचना टाँसेर सभामुख सम्पर्कविहीन बनेपछि अष्टलक्ष्मी शाक्य नेतृत्वमा प्रचन्ड-माधव पक्षका सांसदले उपसभामुख राधिका तामाङमार्फत पत्र बुझाउँदै यस्तो माग गरिएको हो ।
मंगलबार (हिजो) साँझ सभामुखकै कार्यकक्षमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष दलका नेता, कार्य व्यवस्था परामर्श समितिका सदस्य समेतको उपस्थितीमा फागुन ५ का लागि डाकिएको बैठक नरोक्ने र मुख्यमन्त्री पौडेलमाथि परेको अविश्वासको प्रस्तावलाई प्रकृयामा लैजाने सहमती गर्ने तर आफैं मोबाइल स्वीच अफ गरी बेखबर बनेपछि प्रदेशसभाका प्रचन्ड-माधव पक्षका नेकपा सांसद आक्रोशित बनेका हुन् ।

‘प्रदेशसभाको बैठक सन्चालन गर्ने व्यवस्था मिलाई आफ्नै विरुद्घ आएको अविश्वासको प्रस्तावलाई छिटो भन्दा छिटो टुङ्ग्याउँनुपर्ने नैतिक दायित्व पूरा गर्नुपर्ने विषयमा स्वयम् मुख्यमन्त्रीले पहल लिनुपर्नेमा सभामुखलाई समेत दबाब दिई सभामुखलाई सरकारको रबर स्ट्याम्पजस्तो बनाउँने कार्य भएकोमा घार आपत्ति जनाउँदछौं ।’ नेतृ शाक्यद्वारा हस्ताक्षरित उपसभामुख तामाङलाई बुझाइर्एको ज्ञापनपत्रमा उल्लेख छ ।
सभामुखको कदमले प्रदेशसभाको उपादेयिता समाप्त पार्ने षड्यन्त्र भएको भन्दै संघीयता विरोधीहरुको योजनालाई सफल पार्ने कार्य त भइरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको पनि ज्ञापनपत्रमा लेखिएको छ ।

जनताको हितका लागि कानून निर्माण गर्ने थलोका रुपमा रहेको प्रदेशसभामा सभामुखबाटै कानून मिच्ने काम भएको आरोप लगाउँदै आज विहान जारी गरिएको सूचना सच्याउँन आग्रह गरिएको छ । पत्रमा सभामुखबाट प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको, प्रदेशसभाको मर्यादा, मूल्यमान्यता, स्वतन्त्र भूमिका समाप्त पार्न कार्य भएको आरोप लगाइएको छ ।

विरोधपत्रमा ५६ दिनदेखि अल्पमतमा रहेको सरकारको लाचार छायाँ बनेको भन्दै यसका विरुद्ध उत्रिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने दललाई आग्रह गरिएको छ ।

सभामुखले आफूहरुसंग सल्लाह नगरी एकाविहानै बैठक स्थगित भएको सूचना टाँसेर सरकार मनपरी गरेकाले तत्काल बैठक राख्न आफूहरुले माग गरेको प्रचन्ड-माधव पक्षका प्रदेश सदस्य प्रेमबहादुर पुलामीले बताए ।

बागमती प्रदेशसभाका नेकपाका ४५ जना सदस्यले मुख्यमन्त्री विरुद्द गत पुष १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमाथि छलफल गर्न माघ ७ गते प्रदेशसभा बैठक सुरु गरी माघ ९ गते प्रदेशसभामा प्रस्तावबारे छलफल सुरु भइसकेकोमा माघ १९ गते बैठक बस्ने भन्दै स्थगित गरिएको थियो । बैठक बस्ने अघिल्लो दिन माघ १८ गते राती बैठक स्थगित गर्दै आज फागुन ५ गतेका बोलाइएकोमा विहान सूचना टाँसी बैठक पुन : स्थगित गरिएपछि प्रदेशसभाको बैठकबारे अन्यौलता बढेको छ ।

अविश्वासको प्रस्तावमाथि डटेर सामना गर्ने बताउँदै आएपनि सभामुखलाई दबाब दिदैं आफ्नो सरकार लम्ब्याउँन खोजेको आरोप प्रधानमन्त्री केपी ओली पक्षका मुख्यमन्त्री पौडेललाई लागेको छ ।

प्रदेशसभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेपाल मजदुर किसान पार्टीका २ र स्वतन्त १ गरी १ सय १० जना रहेका छन् । मुख्यमन्त्री पौडेललाई प्रदेशसभामा प्रस्ताव असफल बनाउँन ५६ मत आवश्यक पर्नेमा ओली पक्षका ३५ मतमात्र रहेकाले आफ्नो कुर्सी जोगाउँन २१ मत चाहिन्छ । सरकार जोगाउँन आफूलाई चाहिने विश्वासको मत लिने पूर्व तयारीमा रहेका मुख्यमन्त्री पौडेलले सांसदलाई विभिन्न अवसर देखाएपनि सफल हुन नसकेको उनीमाथि अविश्वासमा हस्ताक्षर गर्ने एक सांसदले बताए । ‘मुख्यमन्त्रीले साथीहरु कसैलाई मन्त्री, कसैलाई पैसा त कसैलाई के केको अवसर दिएर हस्ताक्षर फिर्ता लिन भन्नुभएको सुनेका छौं । ’ उनले भने, ‘काम गर्न असफल मुख्यमन्त्री विरुद्घको अविश्वासको फिर्ता लिने होइन, अब चाँडै सरकार ढलाउने हो ।’

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*