राक्सिराङ गाउँपालिकाले बनायो स्थानीय पाठ्यक्रम
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ ।
पालिकाले आगामी शैक्षिकसत्र देखि कार्यान्वयनमा ल्याउने गरी कक्षा १ देखि ५ सम्मका लागि ‘मेरो राक्सिराङ’ नामक पाठ्यपुस्तक तयार पारेको हो । राक्सिराङ स्थानीय पाठ्यपुस्तक र पाठ्यक्रम तयार पार्ने मकवानपुरको पहिलो पालिका हो ।
पाठ्यपुस्तकमा गाउँका पर्यटकीय स्थल, गाउँपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावना लगायतको बारेका ज्ञान समेटिएको छ ।
यस्तै, गाउँपालिकाको सार्वजनिक महत्वको क्षेत्र,चट्याङ, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपको सम्भाव्य क्षेत्र र त्यसको कारण, चेपाङ जातिले मनाउने चाडपर्व, उनीहरुका रहनसहन, भेषभुषा, भाषा, संस्कृति, गाउँपालिकाभित्र रहेका खोला नालालगायतको बारेमा पाठ्यपुस्तकमा समेटिएका छन् ।
स्थानीय पाठ्यक्रममा सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको गाउँपालिकामा चेपाङ समुदायको बारेमा करिब ३५ प्रतिशतभन्दा बढी ज्ञानवद्र्धक सामाग्री समेटिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४) मा मातृ भाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ । त्यस्तै दफा ११ (ज) १८ मा स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरणको कुरा उल्लेख गरिएको छ । कानुनी अधिकारको प्रयोग गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरी लागू गर्न लागिएको गाउँपालिकाका शिक्षा शाखाका अधिकृत प्रदिप पराजुलीले जानकारी दिए ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपलिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
गाउँपालिका ४ वटा विद्यालयमा नमूना कार्यक्रमको रुपमा यसै शैक्षिक सत्रदेखि कक्षा–१ देखि ५ कक्षासम्म नै स्थानीय पाठ्यपुस्तक पठनपाठन सुरु भइसकेको छ । खैराङको कालिका मावि, सिलिङ्गेको राष्ट्रिय मावि, सरिखेतको सूर्योदय मावि र चैनपुरको प्रजा कल्याण आधारभूत विद्यालयमा ‘मेरो राक्सिराङ’ पढाई सुरु भएको हो ।
पालिका अध्यक्ष मल्लका अनुसार आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाको सबै ५२ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म ऐक्षिक अंग्रेजी विषयलाई हटाएर स्थानीय पाठ्यपुस्तकको पढाई सुरु हुनेछ ।
पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा जापानको शान्ति भोलेन्टियर्स एशोसिएसन र समुन्नत नेपाल दातृ संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो ।
पाठ्यपुस्तक निर्माण भएपछि पालिकाका सबै विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई शिक्षण सम्बन्धी तालिम पनि दिइएको जनाइएको छ ।