हेटौंडामा सामाजिक सुरक्षा कार्यक्रमबारे प्रदेशस्तरिय छलफल

लोकखबर
११ फाल्गुन २०७७, मंगलवार ०६:२४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सामाजिक सुरक्षा कार्यक्रमका विषयमा सोमबार सरोकारवालाकाबीच प्रदेशस्तरिय छलफल गरिएको छ ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका(सिविस) को आयोजना तथा बाल कल्याण समाज मकवानपुरको समन्वयमा ‘सामाजिक सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र अवसर विषयक छलफल’ भएको हो ।
छलफलमा तीनै तहका सरकारले कार्यान्वयन गरिरहेको सामाजिक सुरक्षा कार्यक्रमका बारेमा समीक्षा गरिएको थियो । सामाजिक सुरक्षा कार्यक्रमका अभियन्ता ज्ञानेन्द्रकुमार श्रेष्ठले सामाजिक सुरक्षा कार्याक्रम र बाल संवेदनशीलतासम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । अभियन्ता श्रेष्ठले कार्यपत्रमा सामाजिक सुरक्षा कार्यक्रमका बारेमा चर्चा गर्दै सामाजिक सुरक्षाको ऐतिहासिक पृष्ठभूमी, नेपालमा सामाजिक सुरक्षा कार्यक्रमको स्थिती, गैर योगदानमूलक सामाजिक सुरक्षा कार्यक्रम र बालसंवेदनशीलता, बाल संवेदनशील सामाजिक सुरक्षा विस्तार तथा प्रभावकारी बनाउँन प्रदेश सरकारको भूमिकाका विषयमा समीक्षा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले नागरिकले स्वास्थ्य तथा शिक्षा निःशुल्क रुपमा पाउँनुपर्ने बताए । उनले नागरिक अधिकारसगै जिम्मेवारी र कर्तव्यबारेमा पनि सचेत रहनुपर्ने बताए ।
छलफलमा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल,सन्तबहादुर चेपाङ, बागमती प्रदेशको नीति तथा योजना आयोगका कार्यवाहक अध्यक्ष श्याम बस्नेतले सामाजिक सुरक्षा कार्यक्रमको महत्वको बारेमा धारणा राखेका थिए ।
छलफलमा बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले सहजीकरण गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*