प्रतिनिधीसभा पुनस्थापनाको खुशीयालीमा हेटौंडामा नेकपा प्रचन्ड-माधवको उत्सव र्याली

मकवानपुर । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएपछि बागमती प्रदेशको राजधानी हेटौंडामा खुसियाली मनाइएको छ ।
अदालतको फैसलाकै दिन मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा दीपावली मनाएका हेटौंडाका नागरिकले आज बुधबार नेकपाको प्रचण्ड–माधव पक्षले आह्वान गरेको उत्सव र्याली तथा सभामा खुशी साटासाट गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी माविको प्रांगणमा भेला भएका नेकपा नेता, कार्यकर्ता तथा संसद् पुनर्स्थापनाको पक्षमा खुशी बाँड्न भेला भएकाहरूले हेटौंडा बजार परिक्रमा गर्दै प्रधानमन्त्री ओलीको असंवैधानिक ‘कु’ भन्दै विरोध जनाए ।
उनीहरूले ‘यो जित कसको ? जनताको’, ‘सर्वोच्च अदालत धन्यवाद’, नेकपा हाइहाई’, ‘केपी ओली बाईबाई’ जस्ता नारा लगाएका थिए । चन्द्रसूर्य अंकित नेपालको झण्डा तथा पार्टीको चुनाव चिह्नसहित रातो टीका लगाउँदै र्याली निकालेका थिए ।
र्याली हेटौंडाको कान्तिलोकपथ, मानसचोक, हेडम्बीहाइट, पिपलबोट, बुद्धचोक हुँदै हेटौंडा–४ को मुख्य चोक मानिने सीमाचोकमा आएर सभामा परिणत भएको थियो ।
सभामा नेकपा केन्द्रीय सदस्य एवं पार्टी मकवानपुर सहइन्चार्ज कुमारी मोक्तानले असंवैधानिक रुपमा चल्न खोज्ने तानाशाह धेरै दिन टिक्न नसक्ने बताइन् । साथै उनले संघर्ष जारी रहेको पनि बताइन् ।
नेकपा मकवानपुर अध्यक्ष एवं बागमती प्रदेशसभाका सदस्य मुनु सिग्देलले सर्वोच्चको फैसलाले जनताको जित र प्रतिगमनको हार भएको बताइन् । उनले बाटो बिराएकालाई प्रचण्ड–माधव नेतृत्वको मूल पार्टी नेकपामा फर्कन आग्रह गरिन् ।
यस्तै, पार्टी मकवानपुरका सचिव एवं बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले नेपाली जनता सचेत भइसकेकोले अब राजा–महाराजाको शैलीमा पदमा बस्नेहरुले सोच्नुपर्ने दिन आएको बताए । आफ्नो पार्टी निर्वाचनबाट नभागी संविधान र गणतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा सडकमा उत्रिएको उनले बताए ।