हेटौंडा घोषणापत्र जारी गर्दै सकियो प्रेस संगठनको बागमती प्रदेश भेला
मकवानपुर । प्रेस संगठन नेपालको बागमती प्रदेश स्तरिय भेला विभिन्न तेह्र बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै समापन भएको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचन्ड–माधव पक्षका स्थायी कमिटी सदस्य, तथा पूर्वमन्त्री योगेश भट्टराईले आफ्नो पार्टीकै अगुवाईमा केही दिनमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
नेकपा प्रचन्ड–माधव निकट प्रेस सङ्गठन नेपालको बागमती प्रदेश स्तरीय भेलालाई आज सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा सम्बोधन गर्दैै नेता भट्टराईले केही दिनमा नै ओली सरकार पदमुक्त हुने उद्घोष गरे ।
ओलीसंग नैतिकता भए अहिले पनि राजिनामा दिएर पदत्याग गरी क्षमा माग्नुपर्ने भट्टराईले बताए । ‘ओलीसंग नैतिकता छ भने पद त्याग गरी क्षमा माग्नुपर्छ, अनि अर्को ढङ्गबाट अघि बढ्न सकिएला । ’ उनले भने,‘ओलीले आफ्ना गल्ती कमजोरी, आफूले दिएको धोका सम्झेर आफ्नो कार्यप्रति प्रायस्चित गनुपर्छ ।’
ओली आफ्नो पद रक्षका लागि जातजाति तथा धर्मलाई अहिले प्रयोग गर्नमा लागिपरेको पनि उनले आरोप लगाए । प्रधानमन्त्री ओलीको यस्ता कदमले मुलुक द्वन्द्घतिर जाने खतरा रहेको नेता भट्टराईको तर्क छ ।
उनले केही पत्रकार संविधान ओलीले मिचिदा, संविधानमाथि कु हुँदा पनि त्यसको विरोध भन्दा पनि ताली पिट्दै समर्थन गर्नु दुर्भाग्य र दुःखद भएको उल्लेख गरे ।
भेलामा नेकपा केन्द्रीय सदस्य एवम् सहइञ्चार्ज, प्रेस सङ्गठनका संयोजक महेश्वर दाहाल, पार्टी केन्द्रीय सदस्य एवम् प्रेस सङ्गठनका सहइञ्चार्ज ओम शर्मा, नेकपा केन्द्रीय सदस्य एवम् प्रस सङ्गठनका सहइञ्चार्ज विष्णु रिजाल लगायतले प्रधानमन्त्री ओलीले शासकले देशका उपलब्धि सकाउन खोज्दा मिडियाकर्मीले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
हेटौंडा घोषणापत्र जारी
प्रेस संगठन नेपाल बागमती प्रदेशको दोस्रो भेलाबाट पारित विभिन्न १३ बुँदे घोषणापत्र पनि जारी गरिएको छ । घोषणापत्रमा देशमा आमूल परिवर्तनका लागि जीवन बलिदान गर्ने, पत्रकारिता क्षेत्रका शहिद कृष्ण सेन इच्छुकलगायतप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी निर्णय उल्ट्याउँदै सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने भनी गरेको ऐतिहासिक फैसलाको स्वागत गर्दै लोकतन्त्र र संविधानको रक्षा गरेको भेलाले ठहर गरेको छ ।
यस्तै, प्रेस तथा अभिव्यक्ति स्तन्त्रता नियन्त्रण गर्ने उद्धेश्यले सरकारले ल्याउने तयारी गरेको सामाजिक सञ्जाल नियन्त्रण सम्बन्धी निर्देशिका नल्याउन पनि भेलाले माग गरेको छ भने सरकारले गरेका पुस ५ गते पछिका प्रदेश नम्बर २ प्रमुखको नियुक्ति लगायतका सबै नियुक्ति र निर्णय अवैधानिक ठहर गर्दै बदर गर्न माग गरेको छ । भेलाले सञ्चार संघसंस्थासँग सम्बन्धित कुनै पनि नियुक्ति गर्दा स्वतन्त्र र निष्पक्ष बनाउन आग्रह गर्दै बागमती प्रदेशसभाले निर्माण गरेको सञ्चार माध्यम व्यवस्थापन सम्बन्धी विधेयक र स्थानीय तहहरुले निर्माण गरेको सञ्चार सम्बन्धी विधेयकमा रहेको प्रेस विरोधी प्रावधानहरु हटाउन माग गरिएको छ ।
यस्तै, देशमै सबैभन्दा धेरै सञ्चारमाध्यम र पत्रकार रहेको बागमती प्रदेशमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरे बमोजिमको पारिश्रमिक अधिकांश मिडियाहरुले हालसम्म पनि उपलब्ध नगराएको गुनासो पत्रकारहरुबाट आइरहेकाले समयमै पारिश्रमिक उपलब्ध गराउन सञ्चार गृहमा अपिल तथा आग्रह पनि घोषणापत्रमार्फत गरिएको छ ।
यस्तै, पत्रकार हकहित तथा पेशागत सुरक्षाका लागि सङ्गठनले आवश्यक कार्य गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको प्रेस सङ्गठन नेपाल बागमती प्रदेशका इन्चार्ज रामकुमार एलनले जानकारी दिए ।
भेलाले बागमती प्रदेशका दश वटा जिल्लाका प्रेस सङ्गठनको नेतृत्व पनि चयन गरेको छ । भेलामा प्रेस संगठन नेपालका सहसंयोजक विश्वमणि सुवेदी, विष्णु सापकोटा, महासचिव राजेश राई, कार्यालय सदस्य कमल गिरी, चमिना भट्टराई, नरेन्द्र साउद, मनोज घर्ती, सुरेशचन्द्र अधिकारी, शुरोजंग पाण्डे, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य गोविन्द चौलागाईं, लेखनाथ न्यौपाने, बागमती प्रदेशसभा सदस्य एवम् नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, बागमती प्रदेशसभा सदस्य एवम् नेकपा मकवानपुर सचिव प्रेमबहादुर पुलामी, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्ट, नेपाल प्रेस युनियन बागमती प्रदेशका संयोजक राममणि दाहाल लगायको उपस्थिती थियो ।