हेटौंडामा आजबाट ‘अन्तर नगर महिला तथा पुरुष भलिबल प्रतियोगिता’ हुदै

शिव चौलागाईं
२०७७ फाल्गुन १९, बुधबार ०६:१३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आज बुधबारबाट ‘अन्तर नगर महिला तथा पुरुष भलिबल प्रतियोगिता’ तेस्रो संस्करण सुरु हुदैछ ।
प्रतियोगितामा पुरुषको १३ वटा र महिलाको १० वटा टिमले भाग लिने आयोजक केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय प्रतिष्ठान, मकवानपुरले जनाएको छ ।

आजबाट सुरु हुने प्रतियोगिता यही फागुन २२ गते सकिने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने पुरुष र महिलाको टिमले ५०/५० हजार रुपैंया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ३०/३० हजार रुपैंया, शिल्ड, मेडल र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ ।

यस्तै,प्रतियोगितामा दुई हजार पाँच सयका दरले ६ विधामा महिला र पुरुष गरी १२ जनालाई विधागत पुरस्कार पनि प्रदान गरिने भएको छ ।

प्रतियोगिता सन्चालनका लागि करिब ६ लाख रुपैंया लागत लाग्ने अनुमान गरिएकोमा हेटौंडा उपमहानगरपालिकाले दुई लाख पचास हजार र प्रदेश खेलकुद विकास परिषदले ३० हजार रुपैंया सहयोग गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेल लिगकम नक आउटका आधारमा हुनेछ । हेटौंडाको हुप्रचौरमा हुने प्रतियोगिताको आज दिउशो २ बजे हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्ने तयारी छ ।

नेपालमा २०७२ सालमा आएको विनासकारी भूकम्पमा परी निधन भएका खेलकुद क्षेत्रका परिरिचित व्यक्तित्व केशवलाल श्रेष्ठका नाममा प्रतियोगिता गरी उनको भलिबलप्रतिको योगदानलाई सम्मान गर्नु आफूहरुको उद्देश्य रहेको आयोजकको भनाई छ । अन्तर नगर महिला तथा पुरुष भलिबल प्रतियोगितामार्फत नगरभित्र भलिबल खेलको विकास तथा विस्तार गराउँने, खेलाडीमा रहेको खेल क्षमता अभिवृद्दि र प्रस्फुटन गराउँने, स्थानीय तह र खेलाडीबीचको सम्बन्ध सुमधुर बनाउँने आयोजकको अपेक्षा छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको