पार्टी र राज्यका हरेक तहमा महिलाको उचित सहभागिता रहनु पर्दछ :सभापति देउवा

लोकखबर
२०७७ फाल्गुन २४, सोमबार ११:३७

मकबानपुर । काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन्।
देउवाले शुभकामना सन्देशमार्फत् अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन्।
‘शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्। महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो। हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो। हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो’, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि भएको बताउँदै देउवाले काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहने र महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्‍याउनेछ भन्ने विश्वास लिएको बताए ।
पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित प्रतिनिधित्व र सहभागिता रहनु पर्दछ भन्नेमा काँग्रेस विश्वास राख्ने बताउँदै उनले आफ्नो पार्टीको विधानमा वडादेखि केन्द्रसम्मका सबै तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको सुनिश्चितता गरेको जानकारी दिए ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरूमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीहरूले आफ्नो प्राणको आहुति दिएको उल्लेख गर्दै देउवाले उनीहरूप्रति उच्च सम्मान प्रकट गरे ।
आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र संवर्द्धनका लागि पनि महिलाको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने सभापति देउवाले विश्वास व्यक्त गरेका छन्।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको