लेखराज भट्ट भन्छन् : फास्ट ट्रयाकमा निर्णय गर्छौं, टोपबहादुर रायमाझीको संकेत ओलीतर्फै रहने

मकवानपुर । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरु लेखराज भट्ट र टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी ओलीतिर रहने कि नरहने भन्नेबारे अहिले छलफलमै रहेको बताएका छन्।
ओली सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका भट्ट र उर्जा मन्त्री रायमाझीले गृहमन्त्री रामबहादुर थापा लगायतसँग छलफल गरेर आफ्नो धारणा बनाउने बताए।
तर यसबारे निर्णय ‘फाष्ट ट्याक’मै गर्ने भट्टले बताए।
नेकपा बनेपछि नेताहरु दुईतर्फ विभाजित हुँदा पूर्वमाओवादी नेता भट्ट प्रधानमन्त्री ओलीप्रति नरम थिए।
नेकपा हुँदा माओवादी केन्द्रका तर्फबाट स्थायी समिती सदस्य बनेका भट्ट र रायमाझी प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पक्षमा उभिएर सम्बन्ध थप बलियो बनाएका हुन्। रायमाझीलाई पुस १० गते ओलीले मन्त्री नै नियुक्त गरे।
तर अदालतको फैसलापछि अप्ठेरो अवस्थामा रहेका दुवै मन्त्रीले ओलीतिर रहने कि प्रचण्ड नेतृत्वको माओवादीमा फर्कने भन्नेबारे छलफल गरिरहेको र एक दुईदिनमा निर्णय गर्ने बताए।
‘अहिलेसम्म कता बस्ने मैले निर्णय गरिसकेको छैन,’ भट्टले भने, ‘मलाई कसैले फोन गरेको छैन, मैले पनि कसैलाई सम्पर्क गरेको छैन। तर अब कता रहने भन्नेबारे हामी फास्ट ट्याकमै निर्णय गछौं।’
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको नेकपालाई मान्यता नदिएर पुरानै अवस्थामा फर्काएपछि नयाँ रणनीति तय गर्न माओवादी केन्द्रको आज स्थायी समितिको बैठक राखिएको छ।
भट्टका स्वकीय सचिव हितेश ओझाले आज बोलाइएको स्थायी समितिको बैठकमा सहभागी नहुने बताए।
‘आज बस्ने स्थायी समितिको बैठकमा जाँदैनौं,’ ओझाले भने।
अर्का स्थायी समिति सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले पनि ओलीतिर रहने कि प्रचण्डले नेतृत्वको गरेको माओवादीतर्फ फर्कने भन्ने विषयमा छलफल चलिरहेको बताए।
‘अहिले हामी छलफलमै छौं, कता रहने निर्णय गरिसकेका छैनौं,’ रायमाझीले भने।
उनले ओलीतिर रहने संभावना उच्च रहेको संकेत गरे।
‘अहिलेकै गन्तव्यमा ओली समूहमा अघि बढिरहने नै हुन्छ,’ रायमाझीले भने ।नेपालखबर डटकमबाट